Skin_Hospital_Dhn

राजीनामा दिने मुडमा धनगढीका मेयर ! गठबन्धनले मानसिक यातना दिएको गुनासो

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल पदबाट राजीनामा दिने मुडमा पुगेका छन्। गठबन्धनका दलहरूले लगातार रूपमा राम्रो काम गर्न पनि असहयोग गर्न थालेपछि स्वतन्त्रबाट चुुनाव जितेका मेयर हमाल राजीनामा दिने मुडमा पुगेको स्रोतले जनाएको छ।

गठबन्धनले मानसिक यातना दिएको मेयर हमालको गुनासो छ। ‘धनगढीकै विकासका लागि काम गरिरहेको छु। तर मलाई असहयोग गरिँदैछ। म स्वतन्त्र रूपमा चुनाव जितेँ। अहिले स्वतन्त्र भएर काम गरिरहेको छु,’ उनले भने, ‘तर मलाई विभिन्न बहानामा पछिल्लो समय मानसिक रूपमा पनि यातना दिन थालिएको छ। यस्तै रहने हो भने मैले पदबाट राजीनामा दिनुको अर्को विकल्प देख्दिँन।’

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्षहरूले कार्यक्रम बहिष्कार गरेर मेयरलाई राजीनामा गर्न दबाब दिइरहेको स्रोतको दाबी छ। जग्गा प्लटिङ सम्बन्धी कार्यविधि राजपत्रमा प्रकाशित भएपछि कांग्रेस र माओवादीबाट निर्वाचित कार्यपालिका सदस्यहरूले रुष्ट भएका हुन्।

मयेर हमालले एकचौटी रूपमा कार्यविधि राजपत्रमा प्रकाशित गरेको आरोप लगाउँदै उनलाई नैतिक दबाबमा पार्न खोजियो। तर कार्यविधि सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले मेयर हमाललाई घेर्ने मौका गुम्यो। जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वाेच्चले अन्तरिम आदेशसमेत दिएन।

जग्गा प्लटिङ विवादपछि कांग्रेस–माओवादी गठबन्धनले मेयर हमाल सहभागी हुने औपचारिक कार्यक्रमलाई अघोषित रूपमा बहिष्कार गर्दै छन्। कांग्रेस र माओवादीबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरूले नगर प्रमुख हमाल सहभागी कुनै पनि कार्यक्रममा आफूहरू अनुपस्थित रहने अनौपचारिक निर्णय गरेको बुझिएको छ।

उनीहरूले नगर प्रमुख हमाल र उपप्रमुख कन्दकला कुमारी रानालाई असफल बनाउन मोर्चाबन्दी गरेको आरोप लागेको हो। गठबन्धन दलहरुको मोर्चाबन्दी रहेको स्वतन्त्रबाट विजयी नगर प्रमुख हमालले बताए। धनगढीको फूलबारीमा नेपाल प्रहरी, श्रीमती संघले सञ्चालन गरेको आसरा सुधार केन्द्रको उद्घाटन कार्यक्रमदेखि उनीहरूले नगर प्रमुख सहभागी कार्यक्रमहरूलाई बहिस्कार गर्न सुरु गरेका हुन्।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पुस ११ गते आसरा सुधार केन्द्र, फूलबारीको उद्घाटन गरेका थिए। नगर प्रमुख हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, एमालेबाट विजयी वडाध्यक्षहरू उक्त कार्यक्रममा सहभागी भए। तर, गठबन्धनका दलहरुबाट विजयी वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरू कार्यक्रममा सहभागी भएनन्। सोही कार्यक्रमबाट उनीहरूले नगर प्रमुख हमाललाई राजीनामा गर्न बाध्य पार्ने अनौपचारिक निर्णय गरेको नगर प्रमुख हमालको दाबी छ।

शनिबार धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको बिदाइ तथा सम्मान कार्यक्रम राखिएको थियो तर कार्यक्रममा कांग्रेस–माओवादी गठबन्धनका कार्यपालिका सदस्यहरू उपस्थित भएनन्।

कार्यपालिकाको कार्यालयले सबै नगरसभा सदस्यलाई मोबाइलमा म्यासेज गरेर बिदाइ कार्यक्रममा सहभागी हुन निम्ता गरेको थियो। तर बिदाइ कार्यक्रममा एमालेबाट निर्वाचित नगर उपप्रमुख र वडाध्यक्षहरू सहभागी हुँदा कांग्रेस र माओवादीका वडाध्यक्षहरू सहभागी थिएनन्।

यसका साथै नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि काँग्रेस र माओवादी वडाध्यक्ष र सदस्यहरू सहभागी भएनन्।

नगर प्रमुख हमालले गठबन्धनका वडा अध्यक्ष र सदस्यहरू आफ्नोविरुद्ध मोर्चाबन्दीमा लागेको बताए। उनले भने, ‘उहाँहरुसँग बहुमत छ। सुरुवातमा के गर्न सक्ला र? एक्लो छ भन्ने थियो। पछिल्ला दिनहरुमा राम्रो काम भयो। उहाँहरूलाई हामीले गरेका राम्रो कामले समस्या भएको छ। सोही कारणले मलाई राजीनामा दिन बाध्य बनाउदै हुनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत साबको बिदाइको कार्यक्रम मात्र होइन, आसरा सुधार केन्द्रको उद्घाटनदेखि उहाँहरूले म सहभागी भएका कार्यक्रम बहिस्कार गर्नु भएको हो।’

नगरप्रमुख हमालले गठबन्धनका दलहरुबाट विजयी जनप्रतिनिधिहरुले काम गर्ने वातावरण नदिएको बताए। तर, कांग्रेसबाट निर्वाचित वडा नम्बर ४ का अध्यक्ष बुद्धीबहादुर खड्काले आफूहरूले मेयर हमालविरुद्ध मोर्चाबन्दी नगरेको दाबी गरे। उनले समय नभएकाले उपमहानगरका औपचारिक कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिए। उनले भने, ‘अहिले कार्यक्रम पनि छैनन्। राष्ट्रपति रनिङ शिल्डमा काँग्रेसबाट विजयी साथीहरू नभएको मलाई जानकारी छैन। हामीले निर्णय पनि गरेका छैनौँ। उहाँहरुको समय नभएकाले नजानु भएको होला। म बाहिर भएर नगएको हो।’

माओवादी केन्द्रबाट निर्वाचित वडा नम्बर १६ का अध्यक्ष रामलाल चौधरीले आफूहरूले सहयोग नै गरेको बताए। तर, उनले मयेर हमालले एकचौटी रूपमा कार्यविधि राजपत्रमा प्रकाशित गरेकोमा भने आफूहरूको असन्तुष्टी रहेको जनाए।

‘हामीले मेयरसा’पलाई असहयोग गरेको भन्नु भ्रम मात्रै हो। हामीले सहयोग गर्दै आएका छौँ। यो एकडेढ वर्षको अवधिमा हामीले मेयरसा’पले भनेका कुरा मान्दै आएका छौँ,’ वडाध्यक्ष चौधरीले भने, ‘तर जग्गा प्लटिङ सम्बन्धी कार्यविधि उहाँले एकलौटी रूपमा ल्याउनुभयो। त्यसमा मात्रै हाम्रो असहमति हो।’

एमालेबाट विजयी वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरूको भने नगर प्रमुख हमाल सहभागी कार्यक्रममा सहभागिता हुने गरेको छ। कार्यविधि सम्बन्धी विवाद भएयता धनगढीमा कार्यपालिका बैठक समेत बसेको छैन। एमालेले कार्यपालिकाको बैठक बोलाउन मागसमेत गरेको छ।

धनगढी उपमहानगरपालिकामा २९ सदस्य कार्यपालिका छ। नगरप्रमुख हमाल स्वतन्त्र हुन्। काँग्रेसबाट ११ वडाध्यक्षसहित १९ जना, एमालेका उपप्रमुख र ६ जना वडाध्यक्ष र माओवादीकेन्द्रबाट २ जना वडाध्यक्ष छन्। प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेन कार्यपालिकाको नियम रहेको छ। धनगढीमा कांग्रेस र माओवादीको कार्यपालिकामा बहुमत छ।

सम्बन्धित
Loading...