काठमाडौं ।
नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न गृह मन्त्रायले निर्देशन दिएको छ। महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद महतोलाई पक्राउ गर्न नेपाल प्रहरीलाई निर्देशनात्मक पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
सांसद महतोमाथि कर्तव्य ज्यान मुद्दा रहेको भन्दै पक्राउ गर्न निर्देशन दिइएको उनले बताए। सांसद महतोविरुद्ध प्रेम बहादुर विकले जाहेरी दर्ता गराएका छन्।
”कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका प्रतिवादी महोत्तरी जिल्ला साविक निगौल गा.वि.स. वडा नं. ५ भई हाल गौशाला नगरपालिका वडा नं. २ निवासी लक्ष्मी महतो कोइरीलाई कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक—पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,” शुक्रबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।