
काठमाण्डौः देशभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय ९० वटामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा स्थानीय तहको प्रशासकीय सेवा प्रभावित भएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले ८० वटा गाउँपालिका र १ सय १० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद खाली रहेको बताए । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले पठाउने व्यवस्था रहेको भन्दै उनले सबै पालिकामा कर्मचारी व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि निमित्तकै भरमा सञ्चालनमा रहेको बताए ।

कार्यकारी निर्देशक प्याकुरेलले पालिकामा प्रमुख प्रशासकीय अधिकृत केन्द्र वा प्रदेश सरकारबाट पठाउने भन्नेमा विवाद रहेको उल्लेख गरे ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकामा निमित्तबाट काम भइरहेको बताए । कतिपय पालिकामा सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने र आफूले रोजेको अधिकृत पाउनुपर्ने माग गर्दा पनि समस्या भएको उनको भनाइ छ ।
