Skin_Hospital_Dhn

मह खाने प्रतियोगिता सम्पन्न, के थियो पुरस्कार ?

गण्डकीः सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका– ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा तीन-तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले ३ सय ५० मौरीका घार पुगिसकेका छन् ।

आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्यान्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुभव छन् ।

बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २०औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन् ।

प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका–२३ का जीवनाथ लामिछाने प्रथम भएका छन् । द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बने ।

पोखरा–३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बनिन् । तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी भएका थिए ।

विजयीलाई महानगरको वडा नंं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरुपमा मह प्रदान गरी पुरस्कृत गरेका थिए । प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो । रासस

सम्बन्धित
Loading...