
बाजुराः महिनावारी (छाउपडी) भएका महिलालाई गोरस (दूध, दहीलगायत) नदिने चलन कायमै रहेको छ। गाई र भैँसीको दुध, दही र मोही महिनावारी भएका महिलालाई दिँदा देउता रिसाउने तथा गाईवस्तु बाँझो हुने अन्धविश्वास छ।
महिनावारी भएका महिलालाई गोरस दियो भने गाई, भैँसी बिरामी हुने तथा कहिल्यै नब्याउने भन्ने भ्रम रहेको स्थानीय बाजुरावासी बताउँछन्। पुस्तौँदेखि चलिआएको यो अन्धविश्वास अहिलेसम्म उस्तै छ। महिनावारी भएका बेला महिलाले काटेको घाँस गाईभैँसीलाई पनि दिँदैनन्। छाउपडीले काटेको घाँस गाईभैँसीले खायो भने बिरामी हुन्छन् भनेर महिनावारी हुँदा महिलालाई घाँस पनि कटाउँदैनन्।

महिनावारी भएका महिलाले दुध, दही, मोही खान त के गाईभैँसीको शरीरमा समेत छुन पाउँदैनन्। बुढीगङ्गा नगरपालिका स्थानीय अमृता नेपाली यो परम्परा अहिलेसम्म कायमै रहेको बताउँछिन्। उनले भनिन्, ‘सहरमा महिनावारी हुँदा महिलाले दुध, दही, मोही खाने गर्छन् तर यहाँ भने त्यस्ता पोषणयुक्त खाने कुराबाट सधैँ वञ्चित हुनु परेको छ।’ यहाँका अधिकांश गाउँबस्तीमा महिनावारी भएका बेला महिलालाई छुइछिटो हाल्ने चलन रहेको नेपालीले बताइन्।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा बडीमालिका गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा छाउप्रथा कायमै छ। खप्तड छेडेदहको काँडा जयबागेश्वरी र बुढीगङ्गा नगरपालिकाको बदेडा, तिमाडा, सेलापाखा, जुवापानी र सिगाडा भण्डारगाउँ र नुवाकोटमा छाउपडी प्रथा पनि कायमै छ।
यहाँका महिला छाउगोठमा हिउँदको चिसो र बर्खाको हिलोमा सुत्न बाध्य हुँदै आएका छन्। महिनावारी भएका महिलालाई गोरस दिँदा दुहुनो गाईभैँसी मर्ने, बाघ लाग्ने, अशुभ हुने, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउने भ्रम हट्न सकेको छैन। स्थानीय धामी झाँक्री र ठुलाबडाले पनि समाजलाई आफू अनुकूल बनाउने उद्देश्य अनुरूप महिनावारी भएका महिलाले घरभित्र बस्दा देउता रिसाउने गरेको भन्दै छाउगोठमा सुताउने गरेको खप्तड छेडेदह गाउँपालिका–२, जयवाग्श्वरीकी जला विकले बताइन्।
‘स्वास्थ्यकर्मी भने महिनावारी भएको समयमा महिलाको शरीरबाट धेरै रगत खेर जाने भएकाले त्यस्तो बेला दुध, दही, मोहीलगायतका खाने कुरा खानुपर्ने बताउँछन् तर आफन्त र धामीझाँक्रीले खानु हुँदैन भन्छन्,’ उनले भनिन्। अहिले पनि पढेलेखेका तथा शिक्षित महिला समेत धामीझाँक्रीको डरले छाउगोठमै सुत्न बाध्य छन्। धामीझाँक्रीलाई छाउप्रथा मान्नु हुँदैन भनेर स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाले गाउँबस्तीमै पुगेर सचेतना अभियान चलाए पनि सार्थक हुन सकेन।
सो अभियानअन्तर्गत बाजुरामा रहेका ५५७ वटा छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको । अझै पनि अधिकांश गाउँबस्तीमा छाउप्रथासम्बन्धी विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्रमुख कवीन्द्रसिंह बोहराले बताए।
