
धनगढीः लागूऔषधसहित कैलालीमा दुई जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकबाट रामनाथ राना मंगलवार पक्राउ परेका हुन् ।

बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त प्रहरी टोलीले गेटाका ४५ वर्षीय रानालाई ८६० ग्राम लागूऔषध (चरेस)सहित पक्राउ गरेको हो । रानाले चलाएको मोटरसाईकलको लेगगार्डमा सेतो कट्टा भित्र लुकाई राखेको अबस्थामा चरेस फेला पारी मोटरसाईकल र उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै गोदावरी नगरपालिका–२ अत्तरिया स्थित महेन्द्रनगर रोडबाट ५६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित गोदावरी–३ का २५ वर्षीय सुरेन्द्र साउँद मंगलवार साँझ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले साउँदलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
