
डोटी।
तीन वर्षअघि विमानस्थलको निरीक्षणका लागि डोटी पुग्नुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विमानस्थलको स्तरोन्नति र कालोपत्रे भएपछि २०७७ असोज १७ गते समिट एयरको परीक्षण उडानमा डोटी पुग्नुभएका उहाँले हप्ताको तीन दिन उडान भर्ने व्यवस्था मिलाइने बताएका थिए ।

समिट एयरले केही समय उडान भरेर पछि हट्यो । त्यसपश्चात् प्रेमबहादुर आलेमगर पनि संस्कुति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने। उनले पनि नेपाल एयरलाइन्सको विमान चढेर डोटी पुगे र भने, “दिपायल विमानस्थलको थप स्तरोन्नतिसँगै धनगढी–दिपायल नियमित उडान हुन्छ।” तर, नियमित उडान भने हुन सकेन ।
उसो त २०२६ सालमा स्थापना भएको यो विमानस्थल पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको थियो । २०५८ सालदेखि पूर्ण रूपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो । विमानस्थलका भवन र संरचना जीर्ण बनिसकेका थिए । २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो। छ करोड ८० लाख रुपियाँको लागतमा स्तरोन्नति गरिएको सो विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो।
सुदूरपश्चिमका पहाडी जिल्लाकै सबैभन्दा पुरानो र सुरक्षित मानिएको यो विमानस्थल अहिले विमानको पर्खाइमा छ। विमानस्थलको धावनमार्ग ४९० मिटर लम्बाइसहित कालोपत्रे भएको छ। यहाँ १८ सिटे टुइनअटर विमानले सहजै उडान भर्न सक्ने यसअघि निरीक्षणमा आएका प्राविधिक टोलीले बताएको थियो।
विमानस्थलको स्तरोन्नति भएको दुई वर्षसम्म पनि विमान उडानले निरन्तरता पाएको छैन। सुविधासम्पन्न विमानस्थल हुँदाहुँदै एयरलाइन्सले अनेक बहाना बनाएर सेवा दिनबाट पन्छिएको स्थानीयवासीको आरोप छ । “मन्त्रीहरूको आगमनसँगै विमानस्थलमा केही दिन विमान देख्न पाइयो तर यात्रु बोकेर सेवा दिएको पाइएन,” उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले भन्नुभयो, “हप्तामा दुई पटक उडान गर्ने निर्णय गरेको एयरलाइन्सले कहिले कोभिड, कहिले यात्रु छैन भन्दै आलटाल गर्दै आफू अनुकूल महिनामा दुई पटक जहाज उडाउँदै थियो तर पछिल्लो समयमा पाँच महिनायता उडान पूर्ण रूपमा बन्द रहेको छ।”

विमानस्थल नियमित सञ्चालनमा आए यहाँको उद्योग तथा पर्यटन व्यवसाय फस्टाउने दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्का बताउछन् । “डोटीमा खप्तड, शैलेश्वरी, तेलेलेकलगायतका थुप्रै धार्मिक एवं पर्यटकीय स्थल छन्,” उहाँले भन्नुभयो, “यस्ता क्षेत्रको भ्रमणका लागि आउने पर्यटकलाई सहज रूपमा आवतजावत गर्न सक्ने वातावरण भयो भने डोटी जिल्लाको आर्थिक एवं पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्छ। तसर्थ एयरपोर्ट सञ्चालनमा आउन जरुरी छ।”
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी भए पनि प्रदेशसँग जोडिएका अधिकांश सरकारी कार्यालय दिपायलमै छन्। “मन्त्रालय र कार्यालयको कामले पटक–पटक ओहोरदोहोर गरिरहनुपर्ने हुन्छ,” पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका कर्मचारी गणेश धामीले भन्नुभयो, “उडान नियमित नहुँदा समस्या हुने गरेको छ।”
नेपाल एयरलाइन्सले १८ सिट भएको नेपाल एयरलाइन्सको विमानले धनगढीबाट डोटी, अछाम, बाजुरा र बझाङमा उडान भर्दै आएको थियो। हाल दिपायल विमानस्थलमा विमान नआएको पाँच महिना बितेको छ। नेपाल एयरलाइन्सले गत भदौ ६ गते अन्तिम उडान भरेको थियो। त्यसयता विमानस्थल सञ्चालनमा आउनेरनआउनेबारे कुनै जानकारी छैन।
विमान अभावका कारण दिपायलका लागि उडान भर्न नसकिएको नेपाल वायु सेवा निगम धनगढीका स्टेसन इन्चार्ज विमलविक्रम शाहीले बताए । “हामीसँग दुईवटा मात्रै विमान छ,” उनले भने, “केन्द्रले विमान पठाउँदैन। भएका विमान नेपालगञ्जसम्म मात्र आउँछन्। सुदूरपश्चिममा विमान नभएका कारण उडान भर्न सकिएको छैन।” सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल एयरलाइन्सले उडान भर्ने वा नभर्ने भन्नेबारे केही भन्न नसकिने उनले बताए।
स्तरोन्नति भएर सफल परीक्षण भइसक्दा पनि विमानस्थल सञ्चालनमा नआएपछि स्थानीयवासीले विमानस्थलको अवस्था पहिलेजस्तै हुनेमा आशङ्का व्यक्त गर्दै आएका छन्। “केही समय जहाज चलेको देखियो तर चढेर सेवा लिन नपाउँदै बन्द भयो,” होटेल व्यवसायी सङ्घका केन्द्रीय सदस्य राजेन्द्र शाहीले भने, “गौचरनमा परिणत भएको विमानस्थलको अवस्था फेरि उस्तै हुनेजस्तो छ।”
डोटी नागरिक उड्डयन कार्यालय दिपायल कार्यालय प्रमुखविहीन छ। कार्यालय प्रमुख विजय पटेल पुस ४ गते अछाम जिल्ला सरुवा भएर गइसक्नुभएको छ। उड्डयन कार्यालयले हालसम्म कार्यालय प्रमुखको जिम्मेवारी कसैलाई तोकेको छैन। विमानस्थल पाँच महिनादेखि बन्द रहे पनि नयाँ भौतिक संरचना निर्माण कार्यले निरन्तरता पाएको छ।
दिपायल विमानस्थल आयोजनाअन्तर्गत विमानस्थलको टर्मिनल भवन र टावर निर्माण कार्य सुरु भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलका पूर्वप्रमुख पटेलले बताउनुभयो। टर्मिनल भवन र टावर निर्माण गर्न पाँच करोड नौ लाख रुपियाँको लागतमा २०७९ असारबाट निर्माण कार्य सुरु भएको उनले बताए। गोरखापत्रबाट साभार
