
धनगढीः बाजुराको बूढीगंगा नगरपालिका–६ की छाया जैशीले बाँकेको नेपालगन्जस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा स्थायी नियुक्ति पाउन सफल भएकी छन्। १० महिनाभित्र लोकसेवा आयोगका ६ वटा लिखित परीक्षा उत्तीर्ण गरी चर्चा कमाएकी थिइन्।

लोक सेवा आयोग बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०७/०७९/८० (महिला), नेपाल कृषि सेवा, ला.पो. एन्ड डे.डे. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पशु सेवा प्राविधिक पद संख्या १ का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छानिएका ३ जनामध्ये जैशी सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण सफल भएकी हुन्।

कार्यालयका अनुसार यही माघ ९ गते सञ्चालन भएको अन्तर्वार्तामा तीन उम्मेदवारमध्ये लिखित परीक्षा र अन्तर्वार्ताको प्राप्तांकको कुल योग समेतका आधारमा जैशी पहिलो नम्बरमा परेकी हुन्।
सोबमोजिम कार्यालयले सूचना जारी गरी जैशीलाई नेपालगन्जस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा स्थायी नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिएको हो।
