Skin_Hospital_Dhn

डेउडा संरक्षणका लागि आगामी वर्ष बजेट छुट्याउँछौँ : मन्त्री धामी

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले डेउडाको संरक्षणमा सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन्।

डेउडा आइडल २०८० तयारी स्वरूप डेउडा सांस्कृतिक मञ्च नेपालले बुधबार धनगढीमा आयोजना गरेको ‘विशेष भेटघाट तथा सांस्कृतिक कार्यक्रम’ मा मन्त्री धामीले सो कुरा बताएका हुन्। उनले आगामी बजेटमा डेउडा शीर्षक राखेर यसको संरक्षणका लागि बजेट विनियोजन गरिने बताए।

‘सरकारको तर्कबाट यस्ता किसिमका डेउडा संरक्षणका सवालमा त्यति बजेट वा ध्यान दिइएको छैन,’ मन्त्री धामीले भने, ‘आगामी वर्ष हामी बजेट छुट्याउँछौँ। स्थानीय र प्रदेश सरकारले डेउडा आइडलजस्ता कार्यक्रमलाई सहयोग गर्न जरुरी छ।’

उनले पुराना संस्कृतिहरूको संरक्षणमा सबैले ध्यान नदिए आगामी दशकसम्ममा हराएर जाने भन्दै चिन्ता व्यक्त गरे। कला संस्कृति पुस्तान्तरणमा जोड दिनुपर्ने उनको भनाइ थियो। भाषा, संस्कृतिसँगै भेषभूषाको जगेर्ना गर्ने सबै गम्भीर हुनुपर्ने मन्त्री धामीले बताए।

फागुन पहिलो हप्ताबाट सुरु हुने डेउडा आइडल २०८० मा सुदूर र कर्णाली प्रदेशमा गायन प्रतिभा भएका करिब २ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष जोडिने अपेक्षा लिइएको आयोजक संस्था देउडा सांस्कृतिक मञ्चका अध्यक्ष महेशकुमार औजीले बताए।

तीमध्ये २ सयले प्रदेशतहको मञ्चमा पहुँच पाउनेछन्। सेमिफाइनल र फाइनल चरणको छनौटमा पर्ने सहभागीले राष्ट्रियस्तरको मञ्च मात्रै प्राप्त गर्ने छैनन् गीत, संगीतको भविश्य कोर्ने बाटोसमेत तय गर्नेछन्।

नेपाल मात्र नभई विश्वभर छरिएर रहेका डेउडा संस्कृतिलाई मन पराउने सबैलाई यसले समेटिने हुँदा आफूलाई डेउडा भाका गाउन मन लागेका व्यक्तिहरूलाई सजिलै डेउडा आइडलको मञ्चमा स्थान दिइनेछ।

विधागत रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्बन्ध स्थापित गरी सुदूरपश्चिमेली गीत, सङ्गीत, कला संस्कृतिको पहिचान र विस्तारका लागि डेउडा आइडल महत्वपूर्ण कडी बन्ने अध्यक्ष औंजीले विश्वास व्यक्त गरे।

धनगढीको सौंराइ स्क्वायरमा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित
Loading...