
काठमाडौं: नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप २०२४ मा पाकिस्तानसँग ५ विकेटले पराजित भएकोछ । नेपालको यो लगातार दोस्रो हार हो । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
शुक्रबार नेपाल र अफगानिस्तानबीच हुने खेलको विजेता टोली तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुग्नेछ । जितको लागि १९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा आजन आविस ८२ बलमा ६ चौकासहित ६३ रनमा नट आउट रहे । दीपक डुम्रेलाई चौका हान्दै खेल सकाएका थिए ।

पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गर्दैै संयमित सुरुवात दिलाएका थिए । तर तीव्र गतिका बलर आकाश चन्दले २२ औं ओभरमा दुबै ओपनरलाई आउट गरेपछि नेपाल खेलमा फर्किन सक्ने झिनो सम्भावना देखाएको थियो ।
हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । आकाशले दुबै सट बलमा दुबै ओपनरलाई आउट गरेका थिए । आकाशले अरफत मिन्हासलाई ८ रनमा सट बलमा दीपक डुम्रेबाट क्याच आउट गराउँदै केहि दबाबमा राख्न खोजेका थिए । कप्तान साद बेग आकाश त्रिपाठीको बलमा दीपक बोहराबाट क्याच आउट भएका थिए । एक समय पाकिस्तान ८०–० बाट १०४–४ को अवस्थामा पुगेको थियो ।
पाँचौं विकेटका लागि आजन आविस र अहमद हसनले ८५ बलमा ६४ रनको साझेदारी गरेपछि नेपालले २००२ पछि पाकिस्तानलाई हराउने सपना अधुरै बनेको थियो । हसन ३७ बलमा ४ चौकासहित २९ रनमा स्टम्पिङ आउट भए । दीपेश कँडेललाई अघि बढेर सट खेल्ने धुनमा विकेटकिपर विपिन रावलको हातमा लागेर बल स्टम्प लाग्न पुगेको थियो । हरुन अर्शद १८ बलमा २ चौकासहित १५ रनमा नट आउट रहे ।

नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १(१ विकेट लिए । गुलशन झाले १० ओभरमा २९ रन खर्चिदा विकेट भने लिन सकेनन् ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो ।
नेपालका विपिनले ६८ बलमा ४ र्चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए ।
तल्लोक्रममा आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन एक्स्ट्रा पाएको थियो । गुलशन झाले ४७ बलमा १८ रन बनाए । देव, गुलशन र अर्जुन प्रमुख ब्याटर चल्न नसकेपछि बलियो योगफलमा पुग्न सकेको थिएन ।
पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।
नेपाल पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । नेपाल सुपर सिक्समा पुग्न शुक्रबार अफगानिस्तानलाई हराउनु पर्ने हुन्छ । अन्यथा नेपाल समूह चरणबाट बाहिरिनेछ । अफगानिस्तान पाकिस्तानसँग १८१ रन र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । त्यसैले सुपर सिक्समा पुग्न समूह डी बाट शुक्रबार नेपाल र अफगानिस्तानबीचको खेल नकआउट सरह हुनेछ ।
