
विराटनगरः राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् । उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधबार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेका थिए ।

होटलमा खाना खाने बेलामा थारु बेहोस भएपछि उपचारका लागि सुरूमा पारस अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएको हो ।
भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको उपचार भइरहेको अस्पतालले बताएको छ । अध्यक्ष थारू अचेत अवस्थामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।
