Skin_Hospital_Dhn

राष्ट्रियसभा चुनाव : शान्तिपूर्ण तवरले मतदान जारी

काठमाडौं: आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ। सातवटै प्रदेश मुकाममा शान्तिपूर्ण तवरले निर्वाचन जारी रहेको निर्वाचन आयोगले जनाएको हो।

गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ। पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘गण्डकीमा दुई सय ३० जना मतदाता छन्।’ त्यस्तै, बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ।

स्थानीय भुटनदेवी माविको भवनको क मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थियो। उक्त भवनमा मतदान केन्द्र ९क० मा प्रदेशसभाको लागि र ९ख० मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए।

त्यस्तै, लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरि मतदानको सुरुआत भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए। लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै, कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको मतदान जारी रहेको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान भाग लिइरहेका छन्।

मतदान कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए। प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ छ।

सम्बन्धित
Loading...