
धनगढीः धनगढीका धनाड्यका रूपमा चिनिएका उपेन्द्र भट्टको धनगढीको मुख्य चाराहामा रहेको चार तले भवन छ। उक्त भवनमा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन्।
भट्टले भवनको उत्तर पट्टी नक्सा पास बिना नै जोखिमपूर्ण पार्किङ स्थल निर्माण गरेका छन्। धनगढी उपमहानगरपालिकाको घर जग्गा तथा नक्सा फाँटले पनि भट्टले पार्किङ स्थल निर्माणका लागि नक्सा पास नगरेको जनाएको छ। पार्किङ स्थल निकै जोखिमपूर्ण रहेको सेवाग्राहीहरूको व्यापक जनगुनासो छ।

पार्किङस्थल अपाङ्गमैत्री पनि छैन। पार्किङस्थलमा ह्वीलचेयर चड्न सक्दैन। यसका साथै पानी पनि चुहिन्छ। पार्किङ स्थल व्यवस्थित नहुँदा दैनिकरूपमा चार/पाँच वटा मोटरसाइक चिप्लिने गरेका छन्।
पार्किङ गर्न पुगेका लक्ष्मीराज जोशीले पार्किङ स्थल जोखिमपूर्ण रहेको बताए। ‘सबैको लागि यो पार्किङ स्थल उचित छ जस्तो मलाई लाग्दैन। सबैले बाइकहरूलाई माथि ल्याउन र लैजान सक्ने हुनुपर्दथ्यो। मैले चाहिँ असजिलो महसुसर गरेँ,’ उनले भने, ‘अस्ति मैले यहाँ बाइक पल्टिएको पनि देखेको थिएँ। यसमा हिँड्दाखेरी नै अप्ठ्यारो हुन्छ भने बाइक माथि ल्याउँदा त गाह्रो हुने नै भयो।’ महिला र भरखर मोटरसाइकल वा स्कुटर सिकेकालाई पार्किङ गर्न ल्याउन गाह्रो हुने उनको ठम्याइ छ।

बाइक पार्किङमा राखेका तेज खड्काले पार्किङ स्थल असहज भएको बताए। उनले उकालोमा मोटरसाइक चिप्लिने गरेको पनि बताए। ‘घरधनीले यसको व्यवस्थापन गर्नुपर्ने हो। बैंकहरू छन्। मान्छेहरूको चाप हुन्छ,’ खड्काले भने, ‘बाइकलाई माथि चढाउन निकै गाह्रो हुन्छ।’
पार्किङ स्थलबारे गुनासो आएपछि उपमहानगरपालिकाको घर जग्गा तथा नक्सा फाँटको टोलीले बिहीबार स्थलगत अनुगमन पनि गर्यो। उक्त टोलीले पार्किङ स्थल निर्माणका लागि नक्सा पास गरेको विवरण घरधनी भट्टसँग माग्यो तर उनीसँग नक्सा पास गरेको विवरण भेटिएन।
नक्सा पास बिना पार्किङ स्थल निर्माण गरेको पाइएको घर जग्गा तथा नक्सा फाँटले जनाएको छ। ‘उहाँसँग नक्सा भेटिएन अब हामी नक्सा पास प्रक्रियामा आउन पत्र काट्छौँ। उहाँ पार्किङ स्थल पनि मापदण्डअनुसार बनाउन पर्छ। यदि मापदण्डअनुसार भएको छैन भने भत्काइन्छ,’ घर जग्गा तथा नक्सा फाँटले भन्यो, ‘उहाँलाई हामीले अब हामीले राजश्व लाग्नेमा थप दुई सय प्रतिशत जरिवाना तिराउँछौँ।’
घर जग्गा तथा नक्सा फाँटले नक्सा बनाएको वा नबनाएकोबारेमा बेलाबेला अनुगमन गर्छ। तर धनगढीको मुख्य चाराहामै रहेको पार्किङ स्थलको भने अनुगमन नगरेको पनि भेटिएको छ। उपमहानगरपालिकाको घर जग्गा तथा नक्सा फाँटले आफूहरूबाट पनि अनुगमन गर्दा छुटेको स्वीकार गरेको छ।
घरधनी भट्टले भने पार्किङका लागि नक्सा पास गरेको दाबी गरे। तर उनले पास गरेको विवरण भने देखाउन सकेनन्।
