
धनगढीः नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट हटाइएका नेता खगराज भट्टले सो घटनाबारे आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन्।
भट्टका स्वकीय सचिव केशवराज जोशीका अनुसार संसदीय दलको नेताबाट भट्टलाई हटाएको जानकारी पाएको भन्दै उक्त विषयमा हतारमा प्रतिक्रिया दिने पक्षमा नरहेको बताए।

‘नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम संसदीय दलका आदरणीय नेता खगराज भट्टलाई हटाएको कुरा जानकारी पाएका छौं। यो गम्भीर विषयमा हामी हतारमा प्रतिक्रिया दिने पक्षमा छैनौं,’ जोशीले भनेका छन्। साथै, उनले यो विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेशसँग निरन्तर छलफल भइरहेको पनि बताए।

यो घटनापछि पपार्टी पंक्ति र जनसमुदायबाट आएका विभिन्न चिन्ता, चासो र जिज्ञासालाई नजिकबाट नियालिरहेको बताए। केही दिनमा यो घटनाबारे आधिकारिक धारणा सार्वजनिक हुने स्वकीय सचिव जोशीले बताए। साथै, गम्भीर परिस्थितीमा संयमित हुन र पार्टी निर्णय कुर्नका लागि उनले पार्टीका सबै नेता कार्यकर्तालाई आग्रह गरिएको पनि बताए।
शुक्रबार बसेको माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकमा बहुमत जुटाएर भट्टलाई दलको नेताबाट निकालिएको थियो। भट्टइतर समूहका ६ सांसद भेला भएर उनको संसदीय दलको नेता पद खोसेका हुन्।
उनको स्थानमा दार्चुलाबाट निर्वाचित माओवादी सांसद मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको छ। धामी यसअघि प्रमुख सचेतक थिए। अघिल्लोपटक उनी सुदूरपश्चिम प्रदेश सरकारमा वनमन्त्री पनि भएका थिए। आफूलाई दलको नेताबाट हटाउने शुक्रबारको बैठकमा भट्ट भने उपस्थित थिएनन्।
