
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले नक्सापास नगरी पार्किङ संरचना बनाएका घरधनी उपेन्द्र भट्टलाई पत्र काटेको छ। नयाँ सन्देशले यही माघ ११ गते ‘धनगढीका धनाड्य भट्टको रजगज : नक्सा पासबिना जोखिमपूर्ण पार्किङस्थल निर्माण’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
समाचार र जनगुनासो आएपछि उपमहानगरपालिकाले (आज) सोमबार घरधनी भट्टलाई पत्र काटेको हो। उपमहानगरपालिकाले पत्र लेख्दै संरचना मापदण्ड पालना गरी नक्सा पास प्रक्रियामा आउन आग्रह गरेको छ। प्रक्रियामा नआएमा नियमानुसार कारबाही गरिने पनि चेतावनी उपमहानगरले दिएको छ।


डिभिजनल इन्जिनियर दिजराज भट्टद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘धनगढी उपमहानगरपालिकाको वडा नं ३ को कित्ता नं ८७, ८८, ८९, ९० जग्गामा यस कार्यालयबाट नक्सापास नगरी पार्किङ को संरचना बनाएको देखिएको र उक्त संरचानाको मापदण्ड नपुगेर दुर्घटनासमेत निम्तिने जनगुनासो आएकोले उक्त संरचना मापदण्ड पालना गरी नक्सापास प्रक्रियामा आउनुहोला अन्यथा नियमानुसार कारबाही हुने व्यहोरा जानकारी गरिन्छ ।’
धनगढीका धनाड्यका रूपमा चिनिएका भट्टले धनगढीको मुख्य चाराहामा रहेको चार तले भवनको उत्तर पट्टी नक्सा पास बिना नै जोखिमपूर्ण पार्किङ स्थल निर्माण गरेका छन्। भवनमा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन्। पार्किङ स्थल निकै जोखिमपूर्ण रहेको सेवाग्राहीहरूको व्यापक जनगुनासो छ।
जनगुनासोपछि उपमहानगरपालिकाले एक्सन लिँदै भट्टलाई पत्र काटेको हो। पार्किङस्थल अपाङ्गमैत्री पनि छैन। पार्किङस्थलमा ह्वीलचेयर चड्न सक्दैन। यसका साथै पानी पनि चुहिन्छ। पार्किङ स्थल व्यवस्थित नहुँदा दैनिकरूपमा चार/पाँच वटा मोटरसाइक चिप्लिने गरेका छन्।
