Skin_Hospital_Dhn

डोटीका एक दलित युवक होटलमा पानी छोएको निहुँमा कुटिए

डोटी: डोटीमा होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ। केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्।

केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका थिए। ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी कहाँ गएका छन्।

पीडित रमेश भूलले आफुमाथिमात्र नभएर सिंगो दलितजाति माथिको अपमान भएको भन्दै कानुनी कारबाहीमा जाने बताए। जातीय विभेदको घटना इलाका प्रहरी कार्यालयले हेर्न नमिल्ने भन्दै बायल प्रहरी चौकीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय सिलगढी पठाएको इन्चार्ज मानसिं भण्डारीले बताए ।

इलाका प्रहरी कार्यालय बायलका इन्चार्ज असई मानसिंह भण्डारीले पानी छोएको निहुँमा कुटपिट गरेको भन्दै रमेश भूल आइतबार बेलुकी आएको बताए। असई धामीका अनुसार दुवै पक्ष मदिरा सेवन गरी बेलकीपख आफूकहाँ आएका भएपनि सोमबार सिलगढी पठाएको बताए ।

प्रत्यक्षदर्शीका अनुसार धामीले जातीय आरोप लगाउँदै कुटेको स्वीकारेका छन्। यद्यपि सामान्य घटना भन्दै गाउँमै सहमति गर्नका लागि पीडित पक्षलाई दबाब आइरहेको दलित अगुवाहरूको गुनासो छ।

केआईसिंह–४ बायलका दलित अगुवा वसन्त विकले २१औं शताब्दीमा आइपुगेर पनि यस प्रकारको निकृष्ट व्यवहार सहृय हुन नसक्ने बताए। उनले जातीयताका आधारमा हुने थिचोमिचो र अन्यायबिरुद्ध सडक आन्दोलनमा समेत उत्रने चेतावनी दिए।

सम्बन्धित
Loading...