Skin_Hospital_Dhn

डडेल्धुरा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ २६ र २७ गते हुने

डडेल्धुरा: डडेल्धुरा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता टुँडिखेल मैदानमा हुने भएको छ। प्रतियोगिता व्यवस्थापन/निर्देशन समिति डडेल्धुराको सोमबार बसेको बैठकले यसवर्षको जिल्लास्तरीय रनिङ शिल्ड अमरगढी नगरपालिका–४ टुँडिखेलमा गर्ने निणर्य गरेको हो।

प्रतियोगिता यहीँ माघ २६ र २७ गते टुँडिखेल मैदानमा आयोजना सञ्चालन गरिने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिए। जिल्ला खेलकुद समितिले सोमबार एक सूचना जारी गर्दै आ–आफनो पालिकाका खेलाडी टिमहरू सहभागी गराइदिन जिल्लाका सातवटै स्थानीय तहलाई आग्रह गरेको छ।

कार्यालय प्रमुख भण्डारीका अनुसार प्रतियोगिताको माघ २६ गते बिहान साढे ८ बजे उद्घाटन गरिने छ। खेलाडी पोषक र आ–आफनो स्थानीय तहको झण्डा हुनुपर्ने तथा सातवटै स्थानीय तहले खेलाडीहरूको फारम विद्यालय र पालिकाबाट प्रमाणित गरेर अनिवार्य समावेश गराउनुपर्ने उल्लेख छ।

रनिङ शिल्डको खेल तालिका/टाइसिट माघ २५ गते दिउँसो ४ बजे प्रकाशित गरिने आयोजक जिल्ला खेलकुद समितिले जनाएको छ। जिल्लास्तरीय प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेलहरू खेलाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले बताए। उनकाअनुसार जिल्लास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन्।

१३औँ जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताका अजयमेरु गाउँपालिका–३ मा रहेको चम्बेताल खेल मैदानमा खेलाइएको थियो। गतवर्ष परशुराम नगरपालिकाले जिल्लास्तरीय रनिङ शिल्डको उपाधि जितेको थियो।

सम्बन्धित
Loading...