Skin_Hospital_Dhn

सुदूरपश्चिमका मुख्यमन्त्रीकहाँ पुग्यो माओवादी संसदीय दलको नेता फेरिएको पत्र

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सचिवालयले नेकपा (माओवादी केन्द्र) संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको छ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका हुन्। उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराएका छन्।

यही माघ १२ गते भट्टको अनुपस्थितिमा बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले उनलाई दलको नेताबाट हटाई उनको स्थानमा धामीलाई दलको नेता बनाउने निर्णय गरेको थियो। भट्टइतर समूहका ६ सांसद भेला भएर उनको संसदीय दलको नेता पद खोसेका थिए। धामी यसअघि प्रमुख सचेतक थिए। अघिल्लोपटक उनी सुदूरपश्चिम प्रदेश सरकारमा वनमन्त्री पनि भएका थिए।

११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र सुदूरपश्चिममा एक जना सभामुख छन्। प्रदेशसभा सदस्य मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णय गरेको बैठकमा खगराज भट्ट, झपटबहादुर साउद, रमेशसिंह धामी र जनकीदेवी कुँवर उपस्थित थिएनन्।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले खगराज भट्टलाई दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको थियो। शनिबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका उपलब्ध पदाधीकारीको बैठकले प्रदेश संसदीय दललाई भट्टलाई नै दलको नेतामा पुनःस्थापित गर्न निर्देशन दिने निर्णय गरेको थियो।

सम्बन्धित
Loading...