
धनगढीः अछामको पञ्चदेवल विनायक नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको पुस्तक खरिद गरेको छ। नगरपालिकाले पुनको पुस्तक ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ किनेको हो।

नगर प्रमुख अम्बिका चलाउनेले पालिकाले ५२ हजार ५ सय बराबरका ७० थान किताब किनेको जानकारी दिइन्। खरिद गरिएको पुस्तक सामुदायिक विद्यालयमा वितरण गरिने मेयर चलाउनेले बताइन्। पुन सोमबार विनायक पुगेका थिए।

त्यहाँ उनलाई पञ्चदेवल विनायक नगरपालिकाले स्वागत गरेको थियो। पुन आफ्नो जीवनको आत्मकथा पुस्तक बेच्न देश दौडाहामा छन्। जसअन्तर्गत मध्यपहाडी राजमार्गको यात्रा गर्दै उनी विनायक पुगेका हुन्।
३०८ पेज रहेको उक्त पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ। उक्त पुस्तक बिक्री वितरणबाट प्राप्त भएको रकम वीरगन्जस्थित जीर्ण रहेको कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याउनको लागि खर्च गरिने पुनले बताए।
