
बाजुराः बाजुराको पूर्वोत्तर स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिका बिरामी हुन थालेपछि विद्यालय धमाधम बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि बन्द गरिएको छ।

प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले जोखिम फैलिन नदिन विद्यालय बन्द गरेको बताए।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले विद्यालय बन्द गरेको जानकारी दिए । भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने उनले बताए । एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो ।
चिसो अत्यधिक बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो। लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले रुघाखोकी सरुवा रोग भएका कारण हावा र हाँछ्युका माध्मबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह गरे। रासस
