रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट विद्युत् उत्पादन सुरु
कैलालीः रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट २०८० साल माघ १६ गते रातिबाट विद्युत् उत्पादन सुरु भई लम्कीस्थित १३२ केही प्रसारण लाइनमा जोडिएको हो ।
जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करिब छ किलोमिटर टाढाको लम्की स्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । परीक्षणका क्रममा साढे एक मेगावाट उत्पादन भएको विद्युत् प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्बाइनको सहायताले ४ दशमलव ७१ मेगावाट विद्युत् निरन्तर उत्पादन हुनेछ ।
२०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्याएपछि पुनर्निर्माणमा ढिलाई भएको हो । दुई अर्बको लागतमा विद्युत् आयोजना बनेको छ । एक अर्ब पाँच करोड रुपियाँ विद्युत् गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपैयाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भैरहेको छ ।
रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६६/६७ सालमा सुरु भएको थियो । यसबाट शाखा नहर र नदीहरूमा तटबन्धको निर्माण कार्य जारी नै छ ।