Skin_Hospital_Dhn

डडेल्धुरा जेसीजको एघारौँ पदस्थापन कार्यक्रम सम्पन्न

डडेल्धुराः डडेल्धुरा जेसीजले एघारौँ पदस्थापन कार्यक्रम सम्पन्न गरी वर्ष २०२४ का लागि नयाँ नेतृत्व हस्तान्तरण गरेको छ। बुधबार जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले जेसीज चैन हस्तान्तरण गरेसँगै लक्ष्मीकुमारी ऐरले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका हुन्।

डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्ष ऐरले पदभार ग्रहण गरेकी छन्। पदस्थापन कार्यक्रममा अध्यक्षमा ऐरसहित कार्यकारिणी उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र सिन्धु बोहरा अवस्थी तथा उपाध्यक्षमा बसन्तराज पाण्डेय, गोविन्द भट्ट, सन्जीवबहादुर विष्ट र सरस्वती पनेरु भट्ट निर्विरोध निर्वाचित भएका निर्वाचन आयुक्त हिक्मतबहादुर सिंहले जानकारी गराए।

पदस्थापन कार्यक्रममा अध्यक्षले मनोनीत गर्नुपर्ने पदाधिकारी कानुनी सल्लाहकारमा जगत ऐर, महासचिवमा रमेशप्रसाद भट्ट, सचिवमा केशवप्रसाद उप्रेती र कोषाध्यक्ष आशिष बोहरा मनोनीत भएसँगै डडेल्धुरा जेसीजले वर्ष २०२४ को कमिटी पूर्ण भएको हो।

पदस्थापन कार्यक्रममा जेसीज वर्ष २०२३ का अध्यक्ष अवस्थीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले नयाँ कार्यसमितिलाई पनि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा बोल्ने वक्ताहरूले अध्यक्ष अवस्थीले निकै राम्रो काम गरेको भन्दै उनको खुलेरै प्रशंसा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जेसीजले युवाहरूका क्षेत्रमा राम्रो काम गरिरहेको बताए। युवाको क्षमता विकासमा पनि जेसीजले भूमिका अहम् रहेको उनको भनाइ थियो।

पछिल्लो समय युवाहरू लागुऔषध तथा दुर्व्यसनमा फसिरहेको उल्लेख गर्दै उनले त्यसको न्यूनीकरणका लागि पनि जेसीजले काम गर्नुपर्ने औंल्याए। जेसीज डडेल्धुरालाई विगतमा पनि सहयोग गरेको स्मरण गर्दै उनले आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

वर्ष २०२४ की अध्यक्ष ऐरले महिला हिंसा तथा विभेदमा परेकाहरूलाई जेसीजले सहयोग गर्ने बताइन्। उनले सबैसँग समन्वय गरेर जेसीजले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले युवाहरूको क्षमता तथा नेतृत्व विकासलगातयका कार्यक्रमहरू गर्ने बताइन्।

कार्यक्रममा प्रमुख अतिथि अवस्थीसँगै विशिष्ट अतिथि गन्यापुधरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलगायत थिए। जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै डडेल्धुरा जेसीजका पूर्व अध्यक्षहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

पदस्थापन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको प्रतियोगितात्मक साँस्कृतिक प्रस्तुति समेत रहेको थियो। यसका साथै बागबजार हुँदै तुफानडाँडादेखि निर्माण व्यवसायी संघको हलसम्म बाजागाजासहितको प्रभातफेरी पनि निकालिएको थियो। जेसीजमा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरूको सहभागिता हुने गर्दछ।

सम्बन्धित
Loading...