Skin_Hospital_Dhn

दुई युवकको भारतको सीतामढीमा हत्या

जनकपुर ।
दुई युवकको सीमावर्ती भारतीय गाउँमा हत्या गरिएको छ । अनुसन्धानका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको सूचनाको आधारमा मृतकका परिवारका सदस्यहरु आइतबार बिहान घटनास्थल पुगेका थिए । रायका अनुसार शव जनकपुरका २२ वर्षिय रोहित साह तथा २३ वर्षीय विष्णु साहकै रहेको परिवारका सदस्यहरुले पहिचान गरेका छन् । पोष्टमार्टमपछि बेलुकासम्म शव परिवारका सदस्यहरुलाई बुझाइने छ ।

रोहित र विष्णु छिमेकी अनि मिल्ने साथी पनि थिए । पछिल्लो बुधबार (पुस २७ गते) दुवै जना रोहितको मामा गाउँ परियार जानका लागि घरबाट निस्केका थिए । परियार सीतामढी जिल्लाको बेला थाना अन्तर्गतकै गाउँ हो । तर मामा घर पुग्नु अघि नै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको हुन सक्ने प्रहरीको दाबी छ । डिएसपी रायका अनुसार दुवै जनालाई केही दिनअघि नै हत्या गरेको देखिन्छ । घटना हेर्दा डोरीले घाँटी थिचेर उनीहरुको हत्या गरेको जस्तो देखिने रायले बताए ।

दुवै जना भारत छिर्ने बित्तिकै अपहरणमा परेको परिवारको अनुमान छ । अपहरणकारीहरुले विष्णु साहका बुबा रामबाबु साहलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको थियो । अपहरणकारीहरुले विष्णुका बुबालाई घरि सीमावर्ती कुनै गाउँ त घरि सर्लाहीको मलंगवा बोलाउने गरेका थिए । तर उनीहरुले न फिरौतीको रकम लिए न त दुवै जनालाई मुक्त नै गरे ।

‘ऋण काढेर २० लाखको जोहो गरेको थिएँ । रुपियाँ अहिले पनि ब्यागमै छ । तर नाति नै नरहेपछि रुपियाँको के काम ?, ’ बाजे रामकिशोर साहले रुँदै भने । नातिको अवस्थाबारे रोहितका बाजे पृथ्वी साह अझैपनि बेखबर नै छन् । उनले भने, ‘जगदीश(रोहितका बुबा) बुझ्न गएको छ । हेरौं कतिबेला फर्केर आउँछ ।’

रोहित र विष्णु कुन प्रयोजनको लागि मामा घर परिहार गएका थिए भन्ने बारे आफूलाई जानकारी नभएको बाजे पृथ्वी साहले बताए । विष्णु साहको परिवारमा बाजे रामकिशोर, बुबा रामबाबु, आमा, श्रीमती तथा ३ वर्षीया एक छोरी छन् भने रोहित अविवाहित हुन् ।

घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापामारी गरेका थिए । यसै क्रममा शव गाडिएको स्थान फेला परेको थियो । पीडित परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका दुई तथा भारतका तीन जना नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । कान्तिपुरबाट साभार

सम्बन्धित
Loading...