
सही कुरालाई त सही भनिदिनुहोस्, मलाई साथसहयोग चाहिन्छ : मुख्यमन्त्री शाह
हामीले गरेका काम जनतासम्म पुगेनन्
धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले गरेका कामहरू जनतासम्म पुग्न नसकेको बताएका छन्। बिहीबार धनगढीमा न्यूज २४ टीभीले आयोजना गरेको ‘सीधाकुरा मुख्यमन्त्रीसँग’ कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
‘प्रदेश सरकारले काम नै गरेको छैन भन्ने होइन। कामहरू भएका छन्। केही राम्रा कामहरू हुँदैछन्,’ मुख्यमन्त्री शाहले भने, ‘तर हामीले गरेका कामहरू जनतासम्म पुर्याइएको छैन। जनतालाई निरास हुने कुरा मात्रै पुग्दै छन्।’


उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरामा केही हदसम्म सफल भएको दाबी गरे। भ्रष्टाचारमा मुछिने र लाग्ने कसैलाई पनि नजोगाइने उनको भनाइ थियो। उनले विगतका वर्षहरूमा मन्दिरमा बजेट विनियोजन भएको भएपनि अहिलेको सरकारले मन्दिरमा बजेट नछुट्याएको मुख्यमन्त्री शाहको दाबी थियो।
‘सही कुरालाई तपाईंहरू सही भनिदिनुहोस्। मलाई साथसहयोग गर्नुहोस्। के साढे २९ अर्बको बजेट मुख्यमन्त्री कमल शाहको खल्तीमा छ?,’ उनले प्रश्न गर्दै भने, ‘छैन् नि, त्यो बजेट जिल्ला, प्रदेश र स्थानीय तह कतै त कतै गयो होला नि। आजसम्म पनि कसैले मेरो क्षेत्र, पालिकामा बजेट पर्यो भनेर धन्यवाद भन्नु भएको छैनन। भन्नु पर्छ भन्ने होइन तर तपाईंहरूको साथ मलाई निरन्तर चाहिन्छ।’
मुख्यमन्त्रीले जति काम गरेपनि वावाही नपाउने उनको गुनासो थियो। ‘कुनै पनि मान्छेलाई समस्या पर्दा जनप्रतिनिधले राहत दिने निर्णय गर्दा वावाही हुन्छ। सबैले राम्रो काम गयो भन्छन्। तर, मुख्यमन्त्री बझाङमा भूकम्प आएको तेस्रो दिनमै पीडितको घरमा पुग्दा वावाही पाउँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘संघीय सरकारभन्दा अगाडि मृतकलाई दुई लाख दिने निर्णय प्रदेश सरकारले गर्छ, औषधिउपचारको सबै जिम्मेवारी लिन्छु भन्दा वावाही पाइँदैन। जाजरकोटको भूकम्पमा पनि हाम्रो सरकारले संघभन्दा अगाडि सहयोग गर्ने निर्णय गरेको थियो तर पनि वावाही पाइएन। इजरायलको घटनामा पनि निर्णय गर्दा तथा पहल गर्दा वावाही पाइँदैन।’
