
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयले धनगढीको मुहार फेर्ने विभिन्न सडकहरूको निर्माण सम्पन्न गर्न ठेक्का आव्हान गरेको छ। धनगढी धनगढी उपमहानगरपालिकाका १९ वटा सडकहरूको पहिलो चरणमा निर्माण सम्पन्न गर्न ६ वटा प्याकेजमा ठेक्का आव्हान गरिएको हो।
मन्त्रालयका अनुसार सडकको कालोपत्र पिच, ढल निकासको काम अगाडि बढाउनेछ। यस वर्ष बहुवर्षीय आयोजनाका रूपमा पहिलो चरणमा निर्माण सम्पन्न गर्न ६ वटा प्याकेजअन्तर्गत काम अघि बढ्ने मन्त्री प्रकाशबहादुर देउवाको सचिवालयले जनाएको छ।

जसका लागि ६१ करोडको बजेट छुट्याइएको छ। प्याकेज १ अनुसार धनगढी उपमहानगरपालिका–४ को रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुल्सीचोक हुँदै भगवती टोलसम्मको सडक रहेको छ। यस्तै धनगढी–३ को वाणिज्य बैंक, विशालनगर, जनता आधारभूत विद्यालय, वीरेन्द्र चोक हुँदै रिङ्गरोड जोडने सडक, नेशनल मार्ग सडक, धनगढी–२ को मेनरोड रुवस होटल हुँदै बैयावेहडी सडक र पुरानो भन्सार रोड सडकको काम अघि बढ्ने भएको भौतिक पूर्वधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ।

यस्तै प्याकेज २ मा ४ सडकको काम अघि बढ्ने भएको छ। जसअनुसार धनगढी–८ देखि १२ नम्बर वडासम्मको धनगढी गाउँ जुगेडा सडक कालोपत्र, धनगढी–८ को पुष्पलाल चोकदेखि धनगढी गाउँसम्मकोे सडक, धनगढी–७ को कैलाली बहुमुखी क्यामपसदेखि जाखोरतालसम्मको सडक र धनगढी–१ को त्रिवेणी सडकको काम अघि बढ्ने भएको छ। प्याकेज नम्बर ३ मा धनगढी–५ नैनादेवि पुरानो हसनपुर सडक, धनगढी–५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारादेखि वोराडाँडी हुँदै फाप्ला रिङ्गरोडसम्मको सडक काम अघि बढ्ने भएको छ।
यसैगरी प्याकेज ३ अनुसार धनगढी–१३ मैदा मिलदेखि हिमाली टोल, कैलाली गाउँ प्रहरी पोष्ट हुँदै ढुंगेबजारसम्मको सडक, धनगढी–१३ राजपुर चोकदेखि पूर्व वडा कार्यालय जाने सडक निर्माण सम्पन्न गरिने जनाइएको छ। यस्तै प्याकेज ४ मा धनगढी–११ वहिरा स्कुलदेखि दक्षिणकाली टोल जाने सडक, धनगढी–४ गठवन्धन चोकदेखि शिवपुरीधाम सम्मको सडक कालोपत्रेगरी निर्माण सम्पन्न हुनेछ।
प्याकेज नम्बर ५ अनुसार धनगढी–६ मल्लो मटयारी ढुंगेबजार पश्चिम चोकदेखि उत्तरकृष्णटोल र एक्ताटोल हुँदै लक्ष्मीनगर जानेबाटो कल्भर्ट र नाली निर्माण सडकको काम सम्पन्न हुनेछ। धनगढी–४ शहीद गेट, शिवपुरी, न्यूरोड सडक खण्डदेखि कैलालीचोकसम्म सडक कालोपत्रे हुने भौतिक पूर्वधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ।
यस्तै प्याकेज नम्बर ६ अन्तरगत धनगढी उपमहानगरपालिका–२ खप्तड वडीमालिका टोल सडकको निमार्णको काम सम्पन्न हुने बताइएको छ। धनगढी उपमहानगरपालिका–२ नन्दलाल पन्तको घरदेखि पूर्व भरत जोशीको घरसम्म पक्की नालासहित ढल निकास काम सम्पन्न हुनेछ।
यी सबै सडकहरूको ठेक्का आव्हान भइसकेकाले काम छिट्टै अघि बढ्ने बताइएको छ। सडक निर्माणको कागजी प्रक्रिया पूरा गरिसकेपछि आगामी चार महिनाभित्र काम सुरु हुने पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए।
