Skin_Hospital_Dhn

मुख्यमन्त्री शाहको खुला चुनौती– भ्रष्टाचारमा कतै जोडिएको भए मलाई हत्कडी लगाउनुस्

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारमा कतै जोडिएको भए आफूलाई हत्कडी लगाउन खुला चुनौती दिएका छन्। आज (बिहीबार) धनगढीमा न्यूज २४ टीभीले आयोजना गरेको ‘सीधाकुरा मुख्यमन्त्रीसँग’ कार्यक्रममा उनले सो चेतावनी दिएका हुन्।

‘भ्रष्टाचारको कुरामा कमल शाह कतै जोडिन्छ भने मलाई हत्कडी लगाएर लैजानुस्,’ कार्यक्रममा चुनौती दिँदै उनले भने, ‘हत्कडी लगाउनका लागि म तयार छु। तर कसैले पनि अनावश्यक रूपमा भ्रम सिर्जना नगर्नुस्।’

उनले बदनाम हुने गरेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचार नलेख्न आग्रह गरे। मुख्यमन्त्रीले ११ महिनामा ५ लाख ५६ हजार हवाई भाडामा खर्च गरेको भनेर विभिन्न समाचार माध्यममा समाचार तथा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि शाहले उक्त चुनौती दिएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको श्रद्धाञ्जलीमा जाने कुरालाई मिडियामा खर्च विवरणमा जोडेको आपत्ति जनाए। उनले आफू धनगढीबाट काठमाडौं जाँदा प्लेन चढ्ने कि नचढ्ने? भन्दै प्रश्न गरे।

‘हामी मन्त्री र मुख्यमन्त्रीले जिल्लाभन्दा बाहिर जाँदा प्लेन नचढ्ने भन्नुहुन्छ भने भोलि विधेक ल्याउँ म तयार छु। यो विधेक मैले बनाएको होइन्,’ उनले भने, ‘तपाईंलाई कमल शाहले बनायो लाग्ला। यो बनेको ऐन अनुसूचीमा व्यवस्था भए अनुसार प्रतिदिन २५ सय भत्ता पाइन्छ।’

दैनिक भ्रमण भत्ता आफूले नलिँदा सुरक्षा गाडले समेत नपाउने भएपछि भत्ता लिएको मुख्यमन्त्री शाहको भनाइ थियो। यसका साथै मुख्यमन्त्रीले गोदावरीबाट राजधानी डडेल्धुरा सार्ने भयो भन्दै मिडियाहरूले आफूलाई खेदेको पनि गुनासो उनले पोखे।

‘दुई तिहाइले प्रदेश राजधानी गोदावरीमा बनाउने निर्णय र पत्राचार गरिसकेको अवस्था छ। मैले यहीँ कुरा डडेल्धुरामा बोल्दा सञ्चारकर्मी साथीहरूले सोधिहाल्नुभयो मैले जवाफ दिँदा त यो कमल शाहले डडेल्धुरामा प्रदेश राजधानी बनाउने भो भनेर खेद्नु भयो,’ उनले भने, ‘मैले त्यहाँ बालेको त्यो हाइन। गोदावरीको प्रक्रिया अगाडि बढिसकेको छ। संघले कि त हुन्छ वा हुँदैन भन्नुपर्‍यो। अस्ति हामीले फेरि सम्माननीय प्रधानमन्त्रीज्यूलाई पत्राचार गरेका छौँ।’

राजधानीका लागि गोदावरीमा जग्गा प्राप्ति, रुख कटानलगायतका प्रक्रिया संघीय सरकारले पूरा गर्नुपर्ने उनले बताए। उनले भने, ‘गोदावरीमा स्थानीय तहको जमिन छ, वनजंगल प्रदेश र रुख संघीय सरकारको छ। त्यसैले राजधानी बन्नका लागि यी सबै कुराहरू मिलाउनुपर्छ। धेरै कुरा मिल्ने क्रममा छन्।’

यो पनि पढ्नुहोस् :  सही कुरालाई त सही भनिदिनुहोस्, मलाई साथसहयोग चाहिन्छ : मुख्यमन्त्री शाह

सम्बन्धित
Loading...