काठमाडौं ।
दादुराविरुद्धको खोप घर दैलोअभियान रूपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले निर्देशन दिएका छन् ।
नेपालगञ्जमा दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेपछि स्थानीय पत्रकार सँग कुरा गर्दै मन्त्री गिरीले खोप अभियानमा बालबालिका सहभागी गराउन सम्बन्धित पक्षलाई अपिल गरिसकेको बताए ।
त्यसका लागि आमा समूह, महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूसँग छलफल भइसकेको छ ।
दादुराको खोप नलगाएको वा लगाउन नचाहेका कारण समस्या गहिरो बन्न पुगेको बताए । अहिले नेपालगञ्जमा विशेष गरी मुस्लिम समुदायले खोप नलागएको र धेरै बालबालिका खोपबाट वञ्चित भएका कारणले दादुराको प्रकोप फैलिएको हो ।
‘दादुरा फैलिदो अवस्थामा रहेको र खोप लगाउन नचाहेको कारणले यो समस्या बढ्दै गएको पाइयो,’ मन्त्री गिरीले भने, ‘खोप अभियानमा बालबालिका सहभागी गराउन सबै सम्बन्धित निकायलाई निर्देशन भइसकेको छ ।’
संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक स्रोत–साधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहयोग हुने उनले प्रतिबद्धता व्यक्त गरे ।
‘खोप अभियान सफल बनाउँन सबै निकायसँग छलफल गरेको छु । सबै निकायलाई दादुरा बिरुद्घको खोप लगाउँन बालबालिका उपस्थित गराउन अनुरोध भएको छ । सुरुमा दादुराको फैलिँदो अवस्थालाई चेनब्रेक गर्नुपर्नेछ,’ उनले भने ।
अहिले नेपालगञ्ज, सुर्खेत लगायत केही ठाउँमा दादुरा महामारीका रुपमा देखिएको छ । दादुराका कारण एक जनाको मृत्यु र दुई सयभन्दा बढी बालबालिका दादुरा संक्रमणबाट प्रभावित भएका छन् ।
‘अहिलेसम्म ९५ प्रतिशत खोप लगाउँने काम सफल रुपमा सम्पन्न भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । तर, यो शतप्रतिशतमा हुनुपर्छ । कुनै बालबालिका छुट्नु हुँदैन,’ मन्त्री गिरीले भने ।
मन्त्री गिरीले आइतबार भेरी अस्पताल,सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन समेत गरेका छन् ।