
धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टका स्वकीय सचिव दिपिनकुमार साउँदलाई पदबाट निलम्बन गरिएको छ। सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियाको नक्कली टिकट प्रकरणमा जोडिएपछि नगरप्रमुख भट्टले साउँदलाई पदबाट केही समयका लागि निलम्बन गरेका हुन्।

स्वकीय सचिव साउँदको नाममा किटानी जाहेरी भएकाले निष्पक्ष छानबिन होस् भन्ने हेतुले उनलाई निलम्बन गरिएको नगरप्रमुख भट्टले बताए। ‘नगरप्रमुखको स्वकीय सचिव भएकै कारणले छानबिनमा समस्या नहोस् भन्नका लागि छानबिन अवधिसम्मका लागि निलम्बन गरिएको हो,’ उनले भने, ‘‘यो प्रकरणमा निष्पक्ष छानबिन होस् भन्ने चाहना मेरो पनि हो।’

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको उक्त महोत्सवमा २८ वटा टिकट ठेली नक्कली भेटिएका थिए। उक्त विषयमा संघले कार्यसमितिका सचिवसमेत रहेका साउँद र टिकट काट्ने जिम्मेवारी पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराका नाममा किटानी जाहेरी दिएको थियो। अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालन भएको सुदूरपश्चिम महोत्सवको आठौं दिन नक्कली टिकट ठेली बरामद गरिएका थिए।
