Skin_Hospital_Dhn

कैलालीमा सहारा घर निर्माण हुँदै

धनगढीः कैलालीमा अलपत्र असहाय र मानसिक रोगी राख्न भवन निर्माण हुने भएको छ। राष्ट्रिय योजना आयोगको एक करोड ५० लाख रुपैयाँ लागतमा सहारा घर निर्माण गर्न लागिएको हो ।

बर्दगोरिया गाउँपालिका–२, बौनियामा असहायका लागि सहयोगी हात नेपाल नामक संस्थाले सञ्चालनमा ल्याएको सहारा घरमा आश्रितलाई राख्न व्यवस्थित भवन निर्माण हुने भएको हो ।

आयोगका सदस्य डा. रामकुमार फुयाँलले भवन शिलान्यास गरे। उनले सहारा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने बताए। स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालनमा ल्याएको सहारा घरमा हाल एक सयभन्दा बढी मानसिक रोगी तथा असहाय बालबालिका आश्रय लिइरहेका छन् ।

देश विदेशबाट विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले दिएको सहयोगबाट सहारा घर सञ्चालन हुँदै आएको थियो । सरकारले पहिलो पटक यति ठुलो योजना दिएपछि राम्रो काम गरेको अनुभूति भएको सञ्चालक विष्टले बताए। समाजसेवाका लागि अहोरात्र खटिएका विष्टले सडकमा अलपत्र परेका नागरिकको अभिभावकीय जिम्मा सरकारले लिनुपर्ने भए पनि आफूले प्रयास थालेको बताए।

मानसिक रोगबाट पीडितले शरीरमै दिसापिसाब गरेकोसमेत थाहा नपाउने भएकाले उनीहरूको सरसफाइलाई ध्यानमा राखी सोही अनुसारको भवन निर्माणको डिजाइन गरिएको सहारा घरका सञ्चालक विष्टले बताए।

भवन निर्माण योजना ठेक्का प्रक्रियामा गई निर्माण सुरु भइसकेको छ । सहारा घर सञ्चालनका लागि बन्न थालेको व्यवस्थित भवनको डिपिआर इन्जिनियर भुवन थापाले निःशुल्क रूपमा गरेका हुन्।

सम्बन्धित
Loading...