Skin_Hospital_Dhn

बैतडीका ८० बालबालिकालाई कडा खालको कुपोषण

बैतडीः बैतडीका ८० जना बालबालिकालाई कडा खालको कुपोषण देखिएको छ। पाँच वर्षमुनिका बालबालिकालाई चेकजाँच गर्दा ८० जनामा कडा खालको कुपोषण भेटिएको हो।

यो आर्थिक वर्षको अहिलेसम्म जिल्लामा एक सय जना कुपोषित बालबालिका भेटिएको स्वास्थ्य कार्यालय बैतडीका पोषण सम्पर्क व्यक्ति तीर्थराज भट्टले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ सय ९९ जना भेटिएकोमा यो वर्ष सय जना कुपोषित बालबालिका भेटिएका हुन्। त्यसमध्ये ८० जनामा कडा खालको कुपोषण भेटिएको उनले बताए ।

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा बालबालिका कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्। स्थानियस्तरमा चेतनाको कमी र गरिबीले जिल्लाका अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको संख्या कम नभएको पाइएको हो।

कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्ने गरिएको भट्टले बताए। अहिले जिल्लाका बहिरंग उपचार सेवा केन्द्र एवं पोषण पुनर्स्थापन केन्द्रमा १ सय जना कुपोषित बालबालिकाको उपचार भइरहेको उनको भनाइ छ।

जिल्लामा ३७ वटा स्वास्थ्य संस्थामा स्थापित उपचार केन्द्रबाट कुपोषित बालबालिकाको उपचार भैरहेको हो। यस्तै स्वास्थ्य कार्यालय बैतडीले विगतभन्दा अहिले कुपोषित बालबालिकाको संख्या कम हुँदै गएको पनि जनाएको छ। खानपानमा ध्यान नदिँदा र विशेष गरि पोषिलो खानाको अभावमा बालबालिकामा कुपोषण हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ।

शारीरिक शक्ति, वृद्धि विकास र सुरक्षाका लागि आवश्यक पोषक तत्वको कमी वा बढी हुनुलाई कुपोषण भनिन्छ। बच्चाको वृद्धि विकास नहुनु, सजिलै रोगको संक्रमण हुनु, रोग निको हुन लामो समय लाग्नु, छाला तथा कपाल सुक्खा देखिनु कुपोषणका प्रमुख चिह्न र लक्षण हुन्।

सम्बन्धित
Loading...