Skin_Hospital_Dhn

शिवपुरी धाममा २ फागुनदेखि श्रीमद्भागवत् महायज्ञ हुने

धनगढीः धार्मिक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका–४ को शिवपुरी धाममा यसवर्ष पनि एघारौँ पटक श्रीमद्भागवत् महायज्ञ हुने भएको छ।

शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै धाममा यसवर्ष फागुन २ गतेदेखि ८ गतेसम्म ७ दिनको श्रीमद्भागवत् प्रवचन, मत्स्यपुराण पारायण हुने जानकारी गराएको हो। धाम व्यवस्थापन समितिले हरेक वर्ष एउटै मिति अथवा फागुन २ गतेदेखि महायज्ञको आयोजना गर्दै आएको समितिका अध्यक्ष बल्देवप्रसाद भट्टले जानकारी दिए।

उनले महायज्ञमा श्रृगारिक महाआरती, हनुमान चालिसा हवनात्मक अनुुष्ठान, अष्ठचिरन्जीवि प्राण प्रतिष्ठा महायज्ञ हुने बताए। उनले १०८ शिवलिंग स्थापना संकल्प पनि हुने बताए।

महायज्ञमा ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको प्रवचन, प्रखर पुराणबाचक पुराणोपासक आचार्य सत्यराज अवस्थीबाट संगीतमय प्रवचन, बैदिक कार्यहरु विवाह, ब्रतबन्ध, ८४ पुजा, गृहशान्ति, कालसर्पयोग निवारण जस्ता अनुुष्ठानहरु पनि हुने बताइएको छ।

महायज्ञमा वाराणसीको गंगाघाट र पशुपतिनाथको गंगाघाटमा हुने संगीतमय आरती, पञ्चकुण्डमा हवन अनुुष्ठान, भगवान शंकरको रुद्राभीषेक हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

धाम व्यवस्थापन समितिका अध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धीबहादुर खड्का प्रमुख अथिति रहेका थिए। उनले धामका लागि वडाले गर्ने सहयोगमा पछि नहट्ने बताए।

शिवपुरी धाम, लोकानन्द स्वामीको परिकल्पनाबाट २०७० साल देखि दाताहरुको दानबाट मात्र निर्माण भएको हो। धाममा करोडौंका संरचना दानदातब्यबाट निर्माण भएका छन्। १०८ फिटको शिवलिंग धामको मुख्य आकर्षण हो।

सम्बन्धित
Loading...