Skin_Hospital_Dhn

राष्ट्रभक्त र देशप्रेमीहरूले काँडेतार हेर्नैपर्ने फिल्म हो : नवल खड्का

धनगढीः नायक तथा निर्देशक नवल खड्काले राष्ट्रभक्त र देशप्रेमी नेपालीहरूले काँडेतार चलचित्र हेर्नुपर्ने बताएका छन्। चललित्रको धनगढीमा विशेष च्यारिटी शो पछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले काँडेतार हेर्नैपर्ने फिल्म भएको बताएका हुन्।

‘चलचित्र काँडेतार प्रतीक्षाको दिन छ। अब सबैसबै राष्ट्रभक्त र देशप्रेमीहरूले चलचित्र प्रदर्शन हुने मिति याद गरेर राख्नुभएको छ,’ खड्काले भने, ‘काँडेतार देशभक्त फिल्म हो। सबै दर्शकहरूले एउटा टिकट काटेर फिल्म हेरिदिएपछि देश र राष्ट्र बचाउने अभियानमा सहभागी भएको बुझिने छ।’

छिमेकी देशहरूमा राष्ट्रवादी चलचित्र प्रदर्शन हुँदा प्रधानमन्त्री र राष्ट्रपतिलेसमेत फिल्म हेर्न आह्वान गर्ने उल्लेख गर्दै उनले नेपालले पनि सो कुराको सिको गर्नुपर्ने बताए।

निर्देशक खड्काले सरकारलाई दवाब स्वरुप सिमानामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर अभियान पनि चलाइएको बताए। उनका अनुसार भारतको सिमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लागाउनुपर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको हो।

काँडेतारको धनगढीस्थित एसटिएस सिनेमा हलमा च्यारिटी शो गरिएको थियो। च्यारिटी शोमा सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर, सन्तोसी थापा शर्मा, धनगढीका नगरप्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायतको सयौँ दर्शक रहेका थिए।

गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्म काँडेतारमा निर्देशक नवलका अलावा गौरव पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोइराला, प्रेम कार्की लगायत कलाकारको अभिनय छ।

शिवम् अधिकारी र नवल खड्काको लेखन रहेको फिल्मको निर्मातामा माकिक राई र अन्जु केसी छन्। फिल्म आउँदो फागुन २५ बाट देशभर प्रदर्शनमा आउँदैछ।

सम्बन्धित
Loading...