
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४ को वडा कार्यालयले युवायुवतीलाई ड्राइभिङ तालिम सुरु गरेको छ।
वडाका बेरोजगार युवायुवतीलाई लक्षित गर्दै वडा कार्यालयले शनिबारदेखि ड्राइभिङ तालिम सुरु गरेको हो। युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ तालिम सुरु गरिएको वडाध्यक्ष बुद्धिबहादुर खड्काले बताए।


ड्राइभिङ तालिम लिएका कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने उनको भनाइ थियो। सीप सिकेर देश तथा विदेश जहाँ गएर पनि काम गर्न सकिने भएकाले युवाहरूलाई तालिम दिन थालिएको वडाध्यक्ष खड्काले बताए।
तालिम शुभारम्भ कार्यक्रमका प्रमुख अथिति धनगढी उपमहानगरपालिका–२ का अध्यक्ष धर्मराज ओझाले अन्य वडाहरूले पनि यस्ता किसिमका कार्यक्रमहरू गर्नुपर्ने बताए। बेरोजगार युवाहरूलाई तालिम दिएर आत्मनिर्भर बनाउनुपर्ने उनको भनाइ थियो।
तालिममा वडाभरिका दलित, जनजाती, अल्पसंख्यक गरी ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ। तालिम फागुन १९ गतेसम्म सञ्चालन हुने वडा कार्यालयले जनाएको छ।
