Skin_Hospital_Dhn

बैतडीमा बलात्कारका घटना बढे

बैतडीः बैतडीमा बलात्कारका घटना बढ्दै गएका छन्। गतवर्षको तुलनामा यो वर्ष बलात्कार घटना बढेका प्रहरीको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ११ वटा बलात्कारका घटना भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एवं प्रवक्ता नन्दराज जोशीले बताए।

गत आर्थिक वर्षमा १३ वटा जबरजस्तीकरणीका घटना भएकोमा १० वटा फर्स्योट भएका र ३ फर्स्योट हुन बाँकी रहेका प्रहरी निरीक्षक जोशीले बताए। यो वर्ष ६ महिनाकै अवधिमा बलात्कारका ११ ओटा घटना भइसकेका छन्।

चालु आर्थिक वर्षको साउन, भाद्र र कार्तिकमा २/२ वटा बलात्कार घटना भएका छन् भने असोजमा ३ ओटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्। यस्तै मंसिर र पुस महिनामा १/१ वटा बलात्कारका घटना भएका प्रहरी निरीक्षक जोशीले बताए।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जबरजस्तीकरणी उद्योगका ३ ओटा घटना भएका छन् भने गतवर्ष जबरजस्तीकरणी उद्योगका ६ घटना भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सामाजिक सञ्जालको दुरुपयोग,बालविवाह, लागुऔषधको प्रयोगलगायतका कारण बलात्कार जस्ता जघन्य अपराधका घटना भइरहेका प्रहरीको निष्कर्ष छ। बलात्कार जस्ता अपराध न्यूनीकरणका लागि प्रहरीले नियमित रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भएपनि यस्ता घटना न्यूनीकरणमा चुनौती कायमै रहेको छ।

यस्तै महिलामाथि हुने विभिन्न किसिमका हिंसाका घटनाहरूमा समेत कमी आउन सकेको छैन्। गत आर्थिक वर्षमा ५६ वटा घरेलु हिंसासम्बन्धी ठाडो उजुरी प्रहरीमा दर्ता भएको तथ्यांकले देखाएको छ। तीमध्ये ५५ घटनामा मिलापत्र भएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

सम्बन्धित
Loading...