Skin_Hospital_Dhn

धनगढीमा ग्रासरुट क्रिकेटका लागि दुई प्रशिक्षक नियुक्त

धनगढीः क्रिकेटको सहर धनगढीमा सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई जना प्रशिक्षक नियुक्त भएका छन् । गत माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि लेभल वान प्रशिक्षक देबनारायण झा र ज्ञानेन्द्र क्षेत्रीलाई प्रशिक्षकमा नियुक्त गरिएको हो ।

गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले आइतबार दुवै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरे । गो ड्रिमर्सले उपमहानगरपालिकाका दुई नमुना स्कुलहरूमा हाल ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दै छ ।

जसमध्ये धनगढी उपमहानगरपालिका–१२ स्थित श्री सिद्धनाथ मावि, जुगेडामा क्षेत्री र धनगढी उपमहानगरपालिका–१८ स्थित श्री चन्द्रोदय मावि, फूलबारी झाले प्रशिक्षण गराउनेछन् ।

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको यो कार्यक्रमका लागि योग्य प्रशिक्षक अनुबन्ध गर्न पाउँदा खुसी व्यक्त गर्दै दुवै जनालाई शुभकामना दिए ।

२०५९ सालदेखि नै क्रिकेट खेल्न थालेका झाले सुदूरपश्चिममा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आफ्नो खेलाडी करिअर अघि बढाएका थिए । त्यसपछि उनले प्रशिक्षकका रूपमा भूमिका निर्वाह गरेका हुन् । उनले आइसिसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

स्कुल लेभलबाट क्रिकेट सुरु गरेका क्षेत्रीले यु १९ देखि राष्ट्रिय प्रतियोगिताहरूमा खेलिसकेका छन् । खेल जीवन पछि उनले २०७२ सालदेखि प्रशिक्षण थालेका हुन् । उनले आइसिसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

दुवै प्रशिक्षण केन्द्रमा लगत्तै प्रशिक्षण सुरु हुने अध्यक्ष शाहीले जनाए । केन्द्र आसपासका क्रिकेट प्रशिक्षण लिन चाहने इच्छुक खेलाडीहरूलाई विद्यालयमा सम्पर्क राख्न समेत गो ड्रिमर्सले अनुरोध गरेको छ ।

सम्बन्धित
Loading...