
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल नगरबासीका सुखदेखि दुःखसम्मका सारथि बनिरहेका छन्। जनप्रतिनिधि सुख, दुःखका मात्र नभई मर्दा र पर्दाका सारथि पनि हुन् भन्ने उदाहरण मेयर हमालले प्रस्तुत गरिरहेका छन्।
उनले धनगढीको विकास गर्नेदेखि जनताका ससाना समस्यालाई पनि साथसहयोग गरिरहेका छन्। हमाल धनगढीको नगर प्रमुख भएपछि उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा, दाहसंस्कार खर्च स्वरुप हतोहात ५ हजार रुपैयाँ सहयोग गर्ने, निःशुल्क शव बाहन, आमा बचाउ अभियानअन्तर्गत गर्भवतीलाई निःशुल्क एम्बुलेन्सलगायतका सेवाहरू दिइरहेको छ।

उपमहानगरपालिकाले शव चिस्यान सेवा नगरबासीलाई निःशुल्क उपलब्ध गराइरहेको छ। विदेश तथा घरबाट टाढा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नुपर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवा दिइरहेको नगर प्रमुख हमालले बताए।
मृत्युलाई रोक्न नसकिने तर कसैको मृत्यु हुँदा आफन्तजन आउँदासम्म शवलाई सुरक्षित राख्न सकियोस् भनेर नगरबासीलाई निुःशल्क शव चिस्यान सेवा प्रदान भइरहेको उनको भनाइ छ। निःशुल्क शव चिस्यान सेवा आवश्यक परेमा निःशुल्क नगर प्रहरीको सम्पर्क नम्बर १८१०५००००९० मा सम्पर्क गर्दा घरसम्म निःशुल्क पुगाएर सेवा प्रदान गरिन्छ।

पार्थिव शरीरको दाहसंस्कार पश्चात् निःशुल्क शव चिस्यान घरबाट नगर प्रहरीले नै उपमहानगरपालिकामा ल्याउने कार्य गर्दछन्। हालसम्म ११ जनाले निःशुल्क शव चिस्यान सेवा लिएका छन्। धनगढी उपमहानगरले निःशुल्क शव चिस्यान सेवा मंसिरदेखि सञ्चालनमा ल्याएको थियो।
‘निःशुल्क शव चिस्यान सेवा’ सबैलाई जीवनको अन्तिम पटक मृतकको अनुहार हेर्नमा सहयोगी बन्दै गएको छ। नगरबासीको सारथि बनिरहेका मेयर हमाल मृतकको घरमा स्वंयम पुगेर मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै आइरहेका छन्।
उपमहानगरपालिकाले अन्तिम संस्कारका लागि शव वाहन र बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिरहेको छ। सेवाग्राहीले नगर प्रहरीबाटै शव वाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको मेयर हमालले बताए।
यसका साथै उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा, क्यान्सर हेल्थ क्याम्प पनि सञ्चालन गर्ने गरेको छ। उपमहानगरले सञ्चालन गर्ने विभिन्न स्वास्थ्य शिवरबाट नगरसाबीहरूले घर आँगनमै सेवा पाइरहेका छन्।
