
काठमाडौँ ।
विश्वासको मत जुटाउन सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले माग पूरा नगरे विश्वासको मत दिन नसकिने अडान राखेपछि रावल प्रधानमन्त्री समक्ष पुग्नुपरेको हो।

रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेतासमेत रहेका रावल २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनलाई न्युनतम २७ जना सांसदले विश्वासको मत दिनुपर्छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको खण्डमा उनले विश्वासको मत पाउने सम्भावना छैन।
शनिबार रावलले एमाले अध्यक्ष केपीशर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
रेशम चौधरीलगायत बन्दीहरूको रिहाइ हुनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायतका तीनबुँदे माग नागरिक उन्मुक्ति पार्टीको छ। यी माग पूरा नभएसम्म विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीले बताउँदै आएको छ।
