
बाजुराः १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले जितेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि जितेको हो ।
कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा बूढीनन्दाले १८ स्वर्ण, २१ रजत र दुई कास्यसहित ४१ पदक हात पारेको छ ।

यसैगरी, बडीमालिकाले १८ स्वर्ण, १४ रजत र ६ कास्यसहित ३८ पदक प्राप्त गरेर दोस्रो र खप्तड छेडेदहले आठ स्वर्ण, १४ रजत, चार कास्यसहित २६ पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ ।

यसैगरी, बूढीगङ्गा नगरपालिकाले सात स्वर्ण, एक रजत र तीन कास्यसहित ११ पदक, स्वामिकात्र्तिक खापर गाउँपालिकाले छ स्वर्ण, दुई रजत र चार कास्यसहित १२ पदक, त्रिवेणीले दुई स्वर्ण, आठ रजत र छ कास्यसहित १६ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले जानकारी दिए ।
यस्तै, प्रतियोगितामा गौमुलले चार स्वर्ण, तीन रजत गरी सात पदक, जगन्नाथले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक र हिमाली गाउँपालिकाले एक कास्य मात्रै हात पारेको छ ।
सहभागी नौ पालिकामध्ये हिमालीले स्वर्ण र रजत दुवै पदकविहीन बनेको छ । यही माघ १५ देखि उक्त प्रतियोगितामा सुरु भएको थियो । नौ पालिकाका चार विधाका ६५ खेलमा एक हजार २९ जना खेलाडी सहभागी थिए । उक्त प्रतियोगिताको शुभारम्भ सांसद बद्रीप्रसाद पाण्डेले गरेका थिए ।
जितको शिल्ड बूढीनन्दा नगरप्रमुख जनककुमार बोहराले ग्रहण गरे । जिल्ला खेलकुद समितिले शिल्ड हस्तान्तरण गरेको थियो । दोस्रो हुने बडीमालिका र तृतीयसहित अनुशासन विधाको पुरस्कार खप्तड छेडेदह गाउँपालिकालाई समेत प्रदान गरिएको छ ।
