Skin_Hospital_Dhn

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको संख्या ८ सय ४६, के छ निक्षेप संकलनको अवस्था ?

धनगढीः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको संख्या ८ सय ४६ पुगेको छ । ८ सय ४६ मध्ये सबैभन्दा बढी कैलालीमा तीन सय ६१ र सबैभन्दा कम बाजुरामा २८ बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा छन् ।

कैलालीमा वाणिज्य बैंक एक सय ३२, विकास बैंक ३०, वित्त कम्पनी चार र लघुवित्त विकास बैंकको शाखा संख्या सबैभन्दा बढी एक सय ९५ सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंक धनगढीको अभिलेख छ । कञ्चनपुरमा वाणिज्य बैंक ६६, विकास बैंक ११, वित्त कम्पनी एक र लघुवित्त विकास बैंकका शाखा संख्या एक सय ९ छन् ।

पहाडी जिल्ला अछाममा वाणिज्य बैंक १८ विकास बैंक तीन, वित्त कम्पनी शून्य र लघुवित्त विकास बैंकको शाखा संख्या ३४ वटा सञ्चालनमा छन् । त्यस्तै, डोटीमा वाणिज्य बैंक १९, विकास बैंक एक र लघुवित्त विकास बैंक २८ सञ्चालनमा छन् । डडेल्धुरारमा वाणिज्य बैंक २५ विकास बैंक एक र लघुवित्त विकास बैंकको संख्या २८ देखिएको छ । उता बैतडीमा वाणिज्य बैंक १९, विकास बैंक दुई र लघुवित्त विकास बैंक २० वटा सञ्चालनमा छन् ।

त्यसैगरी दार्चुलामा वाणिज्य बैंक २०, विकास बैंक दुई र लघुवित्त विकास बैंक १२, बझाङमा वाणिज्य बैंक १८, विकास बैंक एक र लघुवित्त विकास बैंक १९ तथा सबैभन्दा कम बाजुरामा वाणिज्य बैंक १३, विकास बैंक एक र लघुवित्त विकास बैंकको संख्या १४ देखिएको छ । प्रदेशका नौवटै जिल्लामा गरी कुल वाणिज्य बैंकको संख्या तीन सय ३०, विकास बैंक ५२, वित्त कम्पनी पाँच र सबैभन्दा बढी लघुवित्त विकास बैंक चार सय ५९ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा संकलन गरेको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा १६ दशमलव शून्य ९ प्रतिशतले बढेर एक खर्ब ३४ अर्ब २६ करोड २० लाख पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निक्षेप ५ दशमलव ८६ प्रतिशतले वृद्धि भएको थियो । २०८० असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा १ दशमलव ५० प्रतिशतले वृद्धि भएर १ खर्ब ५१ अर्ब ७१ करोड २९ लाख पुगेको छ ।

सम्बन्धित
Loading...