Skin_Hospital_Dhn

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले राहुलको एमबीबीएस भर्ना शुल्क तिरिदिने

धनगढीः छात्रवृत्ति पाएर पनि भर्ना शुल्क तिर्न नसकेर भर्ना छुटेपछि कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भन्दै आज (सोमबार) चिकित्सा शिक्षा आयोगलाई पत्र लेखेको छ । एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका र प्रदेश सरकारको आर्थिक छात्रवृत्ति पाएर पनि शुल्क तिर्न नसकेर भर्ना छुटेपछि सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भन्दै आयोगलाई पत्र लेखेको हो ।

राहुलको एमबीबीएस भर्ना शुल्क सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तिरिदिने
राहुलले आयोगको एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गर्ने छात्रवृत्ति कोटामा पनि उनी छनोट भएका थिए । तर मन्त्रालयको लापर्वाहीका कारण राहुलको भर्ना म्याद नै नाघेको थियो । विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन ।

राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भएका थिए । सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । उक्त टिचिङ हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कूल शुल्कमा १५ लाख भर्ना हुने बेला नै बुझाउनु पर्ने भनेको थियो । तर राहुलका परिवारले पैसाको जोहो गर्न नसकेर भर्ना नै छुटेको थियो ।

यसअघि उनले आफ्नो भर्ना छुट्न थालेको जानकारी गराउँदै सामाजिक विकास मन्त्रालयका कर्मचारी, मन्त्रीहरू सबैसँग गुहारेका थिए तर कसैले सुनेनन् । मन्त्रालयले टार्नका लागि माघ ३ गते ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्र थमाएको थियो । त्यस व्यहोराको पत्रलाई हस्पिटलले आधार मानेन । बिभीन्न संञ्चार माध्यमबाट समाचार प्रकाशन भएपछि सामाजिक विकास मन्त्रालयमाथि दबाब परेको थियो । प्रमुख सचिव हरि लम्सालसमेतको सक्रियतामा सोमबार मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई भर्नाका लागि सहजीकरण गरिदिन आग्रह गर्दै शुल्क तिर्ने पत्र लेखेको हो ।

अब राहुलले भर्ना पाउने–नपाउने भन्ने यकिन फागुन पहिलो साता हुनेछ । भर्ना भएका विद्यार्थीहरूको पढाइ सुरु भएपछि कलेजहरूले सिट खाली हुने अवस्थामा भर्नाको (र्‍यापअप म्याचिङ लिस्ट) सूची निकाल्दछन् । त्यस अवस्थामा सिट खाली हुन आए आफूले भर्ना पाउने सम्भावना रहने राहुलले बताए । राहुलको भर्ना सुनिश्चित गर्न प्रदेश सरकारले जिम्मेवारी लिएर थप पहल गर्नुपर्ने त्यस कार्यमा पहल गरेका नृप सुनारले बताए ।

कैलालीको गौरिगंगा नगरपालिका ६ कठौतिया बनबेहडा घर भई हाल भारतको पञ्जाबमा मजदुरी गर्दै आएका रोहित नेपालीका छोरा हुन् राहुल । सानैदेखि पढाइमा मेधावी राहुलले गोदावरी नगरपालिका समैजी माध्यमिक विद्यालय मजगाउबाट एसईई उत्तीर्ण गरे । ए प्लस ल्याएर एसईई उत्तीर्ण राहुल प्लस टु अध्ययनका लागि अत्तरियाकै दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा भर्ना भए । साइन्स लिएर अध्ययन गरेका उनले प्लस टु मा पनि ए ग्रेड ल्याउन सफल भएका थिए । उनले घरमै बसेर एमबीबीएस प्रवेश परीक्षाको तयारी गरेका थिए । कान्तिपुरबाट साभार

सम्बन्धित
Loading...