Skin_Hospital_Dhn

पूर्वमन्त्री बुढाथोकीको निधन

झापा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गतराति विराटनगरको विराट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो ।

बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको छ ।

त्यसपछि शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए ।

तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए। यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए ।

उनी विसं २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए।

विसं २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि परेका थिए ।

सम्बन्धित
Loading...