
काठमाडौंः प्रतिनिधिसभाका सदस्य एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले लथालिङ्ग र भताभुङ्ग बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद ढकालले सरकारकै आडमा विमानस्थलबाट निरन्तर सुन तस्करी हुने गरेको आरोप लगाएका हुन्।

उनले विमानस्थलमा कर्मचारी समेतको मिलोमतोमा निर्वाध सुन तस्करीको घटना सेलाउन नपाउँदै घुस लिएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा अध्यागमनका कर्मचारी पक्राउ परेको बताए।

‘विमानस्थलमै प्रमुख अध्यागमन अधिकृत नै प्रहरीद्वारा कुटिएको भिडिओ नै सार्वजनिक भएको छ। एकातर्फ गृह मन्त्रालयको छानबिन समितिले कुटाकुट घटनामा प्रहरीलाई दोषी देखाएको छ भने अर्कोतर्फ एअरपोर्टका प्रहरी प्रमुखले राजीनामा दिएका छन्,’ ढकालले भने, ‘प्रहरी भन्छ कि अध्यागमनका कर्मचारी मोटो रकम असुल गरेर अवैध तरिकाले भिजिट भिसामा युवाहरु विदेश पठाउने गरेका छन्। अध्यागमन भन्छ कि, प्रहरी आफै गेटमा बसेर बार्गेनिङ्ग गर्छन्, रकम पाए पठाउछन् र नपाए रोक्छन्।’
अन्तर्राष्ट्रिय विमानस्थल देशको प्रतिष्ठासँग जोडिएको अति संवेदनशील क्षेत्र र देशको प्रमुख नाका वा सिमानाजस्तो भएकाले यहाँका सम्पूर्ण काम कारबाही पारदर्शी, विश्वासयोग्य, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम हुनुपर्नेमा उनको जोड थियो।
