
बाजुराः बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म चल्ने बस सेवा विवादका कारण रोकिएको छ। स्थानीय तह र स्थानीय प्रशासनले कोल्टीसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरे पनि बस व्यवसायीले सडकको अवस्था देखाउँदै रोकेका हुन्।
गत माघ १३ गते प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र बस व्यवसायीबिचको सहमतिमा जयमालिका यातायातको ना ५ ख २०४१ नम्बरको बस मार्तडीबाट कोल्टीसम्म पुर्याइएको थियो।

बस व्यवसायीले सडक राम्रो नभएको र दुर्घटनाको जोखिम रहेकाले बस चलाउन समस्या भएको बताइन्छ। कोल्टी बस सेवा स्थानीयका लागि हात्ती आयो फुस्सा भने झैँ भएको बुढीनन्दा नगरपालिका स्थानीय नरे कार्कीले बताए।

२०७२ सालमा मार्तडीमा बस पुगेपछि तल्लो क्षेत्रका स्थानीयलाई केही सहज भएको हो तर जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिकाको स्थानीयवासी भने अहिले पनि एक दिन पैदल हिँडेर बस चढ्न मार्तडी आउने गरेका छन्। राजनीतिक दल, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयको रोहबरमा कोल्टीसम्म बस सेवा सञ्चालन गरे पनि बाटो सहज नभएका कारण रोकिएको जयमालिका यातायात समिति बाजुराका अध्यक्ष पृथ्वी रावलले बताए।
बडीमालिकाको बाउली, रजाली र बुढीनन्दाको पाण्डुसैनदेखि कोल्टीसम्मको सडक बस सञ्चालन गर्न योग्य नभएपछि कोल्टीमा बस नलिएको भनाइ उनको छ। पाण्डुसैनदेखि कोल्टी सडकको बिच बिचमा राखिएका बिजुलीको पोलले पनि बस चलाउन निकै समस्या भएको देखिन्छ। त्यो पोल पनि चाँडै व्यवस्थापन गर्नुपर्ने रावलले बताए।
यसैबीच मार्तडी बसपार्कदेखि चुथीसम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपैयाँमा बजेट छुट्याइएको छ। सो निर्माणको ठेक्का धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिले लिएको छ।
चुथीदेखि ढम्कनेसम्म छ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले ६२ करोड रुपियाँमा जिम्मा लिएको भौतिक पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी देवी ढुङ्गानाले बताए। मार्तडीदेखि कोल्टी सडकमा २०७६ सालदेखि नै जिप, ट्क्याटरलगायतका यातायातका सवारीसाधन सञ्चालन भए पनि स्थानीयलाई थप सेवा दिने गरी बस सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।
