Skin_Hospital_Dhn

सुदूरपश्चिममा बहुविवाहमा संलग्न महिलाहरु बढे, बहुविवाहमा संलग्न महिलाहरु धमाधम पक्राउ

धनगढीः सुदूरपश्चिममा पछिल्लो समय बहुविवाह गर्ने महिलाको संख्या बढ्न थालेको छ । प्रदेशभित्र बहुविवाहमा संलग्न महिलाहरु धमाधम पक्राउ परिरहेका छन् ।

गत मंगलबार मात्र बहुविवाह मुद्दामा फरार कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ३२ वर्षीया देवकी टमटालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिबाना तोकिएसँगै उनी फरार थिइन् । गत पुस ७ गते मात्र कैलालीमा बहुविवाह मुद्दामा फरार अर्की महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका–१ की २६ वर्षीया माया चौधरीलाई प्रहरीले बहुविवाह मुद्दामा पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीले २०७२ माघ १० गते उनलाई बहुविवाह मुद्दामा ९ महिना ८ दिन कैद र ५ हजार रुपैयाँ जरिबाना तोकेको थियो । त्यसपछि फरार रहेकी उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर अदालतमा पेश गरेको थियो । यी त केबल प्रतिनिधी उदाहरण मात्र हुन बहुविवाहमा महिलाको संलग्नता पछिल्लो समय यसैगरी बढ्न थालेको छ । दोस्रो विवाह गर्ने र गराउने महिलाको संख्या बढ्न थालेको प्रहरीकै अध्ययनबाट पुष्टि भएको छ ।

कानुनअनुसार कुनै पुरुषले पत्नी हुँदाहुँदै अर्की ल्याउन पाउँदैन । तर, कुनै महिलाले पति हुँदाहुँदै अर्कोसँग जान पाउँछे । कानुनले पुरुषको बहुविवाहलाई बर्जित गरेको छ, महिलाको बहुविवाहको हकमा भने मौन छ । पहिला बहुविवाह पुरुषले मात्रै गर्थे । अचेल पुरुषले ल्याउनेभन्दा महिलाले छाड्ने घट्ना बढेका छन् ।

सम्बन्ध चित्त नबुझे वा सँगै बस्न नसक्ने अवस्था आए पारपाचुकेको सुविधा छ । त्यसमा पनि महिलालाई पुरुषलाई भन्दा सजिलो छ । त्यो बाटो नअपनाई सुमधुर सम्बन्ध ठानिरहेको पतिलाई छोडेर हिंड्नेको हकमा अझै कडा कानुन बन्न सकेको छैन् । मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान छ ।

नयाँ कानुनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । यस्तै बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्ने उल्लेख गरिएको छ । उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि समेत अयोग्य हुने स्पष्ट रूपमा उल्लेख गरेको छ । दोस्रो विवाह गरिएको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट उल्लेख गरिएको छ । तर पनि यस्ता घटना हुने क्रम भने घटेको देखीदैन ।

सम्बन्धित
Loading...