Skin_Hospital_Dhn

हङकङविरुद्ध नेपालको शानदार जित

काठमाडौँ: कप्तान इन्दु बर्मा र सीता राना मगरको उत्कृष्ट साझेदारीमा मलेसियामा सुरु एसीसी महिला प्रिमियर कपमा नेपालले विजय सुरुवात गरेको छ। हङकङले दिएको ९४ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

दोस्रो विकेटका लागि सीता र इन्दुले ५९ बलमा ७६ रनको साझेदारी गरेपछि नेपालले सहज जिततर्फ उन्मुख भएको थियो। टी २० आइमा नेपालका लागि भएको यो तेस्रो सर्वाधिक साझेदारी हो।

कप्तान इन्दु ४० रन बनाउँदै पेभेलियन फर्किईन्। ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरेकी इन्दु चान का मन बेटीको बलमा सिउ मेइ वाइ एलिसनको हातबाट क्याच आउट भईन्।

सीता ३६ र रुविना क्षत्री शुन्य रनमा अविजित रहे। सीताले ३८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३६ रनमा नटआउट रहिन्। सीताले १५ औँ ओभरको पहिलो बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएकी थिईन्। नेपालले पहिलो विकेटको रुपमा तेस्रो ओभरको अन्तिम बलमा ओपनर कविता कुवँरलाई ४ रनमा गुमाएको थियोा।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सालागंर टर्फ क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रनको योगफल तयार पारेको थियो।

हङकङका लागि कप्तान चाङ या किङ केरीले बनाएको २१ रन नै सर्वाधिक रह्यो। मर्यम बीबीले १९ र यास्मिन दस्वानीले १५ रन थपिन्। ओपनर नतासा माइल्सले ११ रन बनाईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालका लागि पुजा महतो र रुविना क्षत्रीले समान २ विकेट लिए। सिता राना मगर र कविता जोशीले समान एक विकेट आफ्नो नाममा गरे।
समुह चरणको दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ।

नेपाल रहेको समुह बी मा नेपालसहित हङकङ, भुटान र मालदिभ्स छन्। प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ। समुहका शीर्ष २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्।

सम्बन्धित
Loading...