Skin_Hospital_Dhn

प्रख्यात रक्तदाता मैनालीले संसार छोडे, लेखेका थिए प्यारी श्रीमती तारा धेरै माया

काठमाडौँ: सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता चर्चित रक्तदाता अर्जुन मैनाली मृत अवस्थामा भेटिएका छन्। आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न पुगेका हुन्।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव बन्द अवस्थामा रहेको एउटा भाडाको कारभित्र जलेको अवस्थामा भेटिएको त्यहाँस्थित एकजना प्रवासी नेपाली पुरुषोत्तम ढकालले जानकारी दिएका छन्।

‘दुखेको मन र मन जोड्ने र हारेको मान्छेलाई जिन्दगी जिउन र जित्न अभिप्रेरित गर्ने रक्तदाता अर्जुनप्रसाद मैनाली भाडामा लिएको गाडी बन्द गरेर जलेर मरेको अवस्थामा नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा मृत फेला परेको खबरले स्तब्ध छु’, ढकालले सोमबार सामाजिक सञ्जालमा भनेका छन्।

ढकालका अनुसार प्रहरीले मैनालीको शव गाडीभित्र पूरै जलेको अवस्थामा फेला पारेको हो। घरमा पारिवारिक तनाव भएपछि उनी सोमबार भाडाको कार लिएर उक्त पार्कमा पुगेका थिए। भाडामा लिएको उक्त कार पनि जलेको छ। प्रहरीले कार बन्द गरेर मैनालीले आफ्नो शरीरमा आगो लगाएको प्रारम्भिक अनुमान गरेको छ।

मैनालीको शव नर्थ क्यारोलिनास्थित प्रहरीको टोलीले पोस्टमार्टमका लागि लगेको छ। ढकालको निधन भएको पुष्टिसहितको पत्र प्रहरीले परिवारलाई बुझाइसकेको छ।

आफूलाई समाजसेवीका रुपमा विश्वभर चिनाएका मैनालीले जीवन समाप्त पार्न रोजेको यो कदमबाट नेपालसहित प्रवासमा रहेका नेपाली समुदाय स्तब्ध भएको ढकालले बताए। मैनाली बेपत्ता भएपछि उनको अमेरिकास्थित घरमा आफन्तको रूवाबासी चलेको थियो। मैनाली रक्तदाताका रूपमा विश्वभर चर्चित थिए।

उनले नेपालदेखि कयौं अफ्रिकी मुलुकमा समेत पुगेर रगतदान गरेका थिए। उनले नेपाल, भारत, क्यानडा, बेलायत,घाना, मकाउ, बर्मुडा, आयरल्याण्ड, अष्ट्रेलिया, इक्वेडर, हाइटी, युगाण्डा, थाइल्यान्ड,इथिओपिया, मलावी, रुवान्डा, केन्या, अर्जेन्टिना र मेक्सिको पुगेरसमेत रक्तदान गरेका थिए।

उनी सन् २००० मा अमेरिकन एशोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनमा भाग लिन अमेरिका पुगेका थिए। त्यसपछि उनी अमेरिकमै बस्दै आएका थिए। उनलाई अमेरिकन रेडक्रसले उनलाई सन् २००९ मा ‘द गुड नेइबर’ सम्मान दिएको थियो।

उनले अमेरिकामा विभिन्न तीन सामाजिक संस्था स्थापना गरेर रक्तदान अभियानलाई अघि बढाइरहेका थिए। पछिल्लो समयसम्म उनी यी संस्थामा निरन्तर क्रियाशील थिए।

मैनालीले यसअघि फेसबुकमा लामो स्टाटस लेख्दै पारिवारिक तनावका कारण आत्महत्या गर्न लागेको बताएका थिए। पहिले उनी न्यूयोर्कमा बस्थे। त्यसपछि नर्थ क्यारोलिनामा सरेका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

यस्तो छ उनको स्टाटस

प्यारी श्रीमती तारा,
धेरै धेरै माया !

आज म परलोक जाँदै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ, शब्द पनि काफी हुँदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ ।

मेरो आफ्नै स्वास्नीको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, नीच, खत्तम परिवारको मानिस, संस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफू असल परिवार र संस्कार भएको उदाहरण पनि दियो ।

त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०ः१५ बजे तिनीहरूका ९–१० बर्षकी छोरी, १३–१४ वर्षका छोरा सहित हाम्रो घरमा आएर गरेको झगडाको दूरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिए, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थिएन ।

उसले आफ्नो स्वास्नीको गर्मीलाई शीतल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सान बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाई उसले सुनकै घर बनाएर दिए पनि पूर्ति हुन सक्ला त?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ वर्ष ढिलो नहोस् भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु ।

छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछि यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनि मेरो आँखा रसाउँथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन् ।

गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएनछ । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन् । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनीय चित्कार, दुःखले रमेश अस्मिताको मनलाई धेरै शीतल र सुखानुभूति हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरूलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ ।

मेरो दुःखत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता सङ्गठन जस्ता कुरालाई निरन्तरता दिई रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरू रगत अभावले नमरुन् ।

मैले विगत ३६ सम्म गरेका कर्म–धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन् । प्रेरित हुन । अरू के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज विगत १ बर्षदेखिको दुःख सकिँदै छ ।

म, तिमी, छोरा–छोरी (अमुन–अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा–छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्‍यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस् ।

यदि परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिति आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस्। तिम्रो श्रीमान् । ॐ नमः सिवाय !

ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात ।।

सम्बन्धित
Loading...