Skin_Hospital_Dhn

अब सुदुरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति

धनगढी ।
हिजो (सोमबार)देखि सुदुरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति दिन थालिएको छ। सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य सुरु अनुसार सुदुरपश्चिमको धनगढीबाट पनी श्रम स्वीकृति दिन थालिएको हो । काठमाडौं केन्द्रित वैदेशिक रोजगारसम्बन्धी सबै प्रकारका सेवाहरू सोमबारदेखि सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट दिन थालिएको हो।

हिजोदेखि धनगढी र सुर्खेतका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह हुन थालेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले धनगढी र सुर्खेतबाट सेवा प्रवाहको शुभारम्भ गरेका छन् । यसअघि पुस २४ गते जनकपुर र विराटनगरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिको सुरुवात गरिएको थियो। धनगढी र सुर्खेतमा तयारी नपुगेको भन्दै केही दिनलाई पर सारिएको थियो। कर्मचारीहरूलाई तालिम दिने, आवश्यक स्रोत साधनको व्यवस्थापनको काम सकिएपछि आजदेखि वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह गर्न थालिएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले बताए ।

योसँगै अबदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलका अतिरिक्त श्रम तथा रोजगार कार्यालयहरू विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट सेवा प्रवाह गर्न थालिएको छ । श्रम तथा रोजगार कार्यालयहरूबाट अनलाईनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रवाह हुने सहायक प्रवक्ता उप्रेतीले बताए । श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन गर्न र श्रम स्वीकृति प्राप्त भएपछि मात्रै हवाई टिकट खरिद गर्न समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

मन्त्रालयले आफ्ना सेवाहरू पेपरलेस, फेसलेस र क्यासलेस बनाउँदै लैजाने रणनीति बनाएको छ। मन्त्रालय अन्तर्गतका निकायबाट प्रदान गरिने सेवालाई बढी पारदर्शी, व्यवस्थित एवं नागरिकमैत्रीका अतिरिक्त छिटो, छरितो र सूचना–प्रविधियुक्त बनाउँदै लगरिएको छ ।अनलाइन आवेदन मार्फत तीन दिनभित्रमा श्रम स्वीकृति प्रदान गर्दै आएको छ। आवेदन दिएको तीन दिनभित्रमा श्रम स्वीकृति प्रदान गर्ने वा रिजेक्ट गर्ने जानकारी दिइसक्नुपर्ने कानुनी व्यवस्था छ। सोही आधारमा श्रम स्वीकृतिको काम बढीमा तीन दिनभित्रमा सम्पन्न हुने गरेको सहायक प्रवक्ता उप्रेतीको भनाई छ।

सम्बन्धित
Loading...