
काठमाडौंः जारी नेकपा माओवादी केन्द्रको विधान महाधिवेशनमा नेताहरूले पार्टीका सबै कमिटीहरू निर्वाचित भएर आउनुपर्ने माग गरेका छन् ।

अहिले पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको विधान मस्यौदा समितिले तयार पारेको मस्यौदामाथि भएको छलफलको समूहगत रिपोर्टिङ्ग भइरहेको छ । रिपोर्टिङ्ग गर्ने क्रममा समूह नेताहरूले पार्टीका सबै कमिटीहरू निर्वाचित भएर आउनुपर्ने माग गरेका हुन् ।

महाधिवेशन प्रतिनिधि सागर किरातीका अनुसार बहुमत समूह नेताहरूले पार्टीका सबै कमिटीहरू निर्वाचित भएर आउनुपर्ने कुरा उठाएको बताउँदै त्यसो हुँदा पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो हुने तर्क समूह नेताहरूको रहेको पनि बताए ।
त्यसैगरी विधान अधिवेशनमा पार्टीको चुनाव चिन्ह फेर्न सुझाव आएका छन् । २० समूहमध्येबाटै टोली नेताले रिपोर्टिङ गर्ने क्रममा पार्टीको गोलाकारभित्रको हँसिया हथौडा फेर्नुपर्ने सुझाव आएको एक प्रतिनिधिले जानकारी दिए ।
