
धनगढीः कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-६ मटेरीबाट राघव चौधरी, गोदावरी नगरपालिका-८ स्याउले भित्री सडक खण्डबाट दान बहादुर राना, टीकापुर नगरपालिका-१ जमरापारि टिकापुर बहुमुखी क्याम्पस नजिक सडक खण्डबाट सागर चौधरी र राज कुमार चौधरी पक्राउ परेका हुन् ।
मटेरीबाट धनगढी उपमहानगरपालिका-६ बस्ने २० वर्षीय राघव चौधरीलाई १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित हिजो (बिहीबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, गोदावरी नगरपालिका-८ स्याउले भित्री सडक खण्डबाट धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय दान बहादुर रानालाई ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित हिजो (बिहीबार) साँझतिर प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट श्रीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उनलाई पक्राउ गरेको जनाइएको छ ।
यसै गरी जमरापारि टिकापुर बहुमुखी क्याम्पस नजिक सडक खण्डबाट टीकापुर नगरपालिका-१ जमरापारि बस्ने २० वर्षीय सागर चौधरी र टीकापुर नगरपालिका-९ बस्ने ३२ वर्षीय राज कुमार चौधरीलाई १ ग्राम ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित हिजो (बिहीबार) साँझतिर प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
