
काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई गृहमन्त्री लामिछानेले भेटेका छन् ।

मंगलबार आत्मदाहको प्रयास गरेको आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो । उनको निधनपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको स्वीकारेका थिए ।
उनले फेसबुकमा लेखेका थिए, ‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ । हामीलाई माफ गर्नु होला ।’
